पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मुढा बेचेर आम्दानी गर्दै कैदीबन्दीहरु

सुससरी । सुनसरीको रामधुनी नगरपालिकामा रहेको क्षेत्रीय कारागार झुम्कामा रहेका ६०० भन्दा बढी कैदीबन्दीले मुढा बनाएर आय आर्जन गरिरहेका छन् । 

विभिन्न कारणले जेल जीवन व्यतित गरिरहेका कैदीबन्दी जेलभित्रै मुढा बनाएर आय आर्जन गर्दै आएका छन् । जेलका चौकीदार खड्ग राईका अनुसार कैदीबन्दीले मुढा बनाएर मासिक ९ हजारदेखि १२ हजारसम्म आम्दानी गर्दै आएका छन् । 

कैदीबन्दीले मासिक ५ हजारभन्दा बढी मुढा निर्माण गरी बिक्री गर्ने गरेका छन् ।  मुढा बनाउन आवश्यक पर्ने धागो, बाँस, साइकलको टायर, डोरीलगायत सामग्री जुटाउन कारागार प्रशासनले सहयोग गर्दै आएको छ । 

कैदीबन्दीको कारागार जीवनलाई व्यवस्थित र मर्यादित बनाउनका लागि मुढा बनाउन सामग्री कारागारले जुटाएको छ ।

कच्चा पदार्थ हप्तामा एक पटक ल्याउने गरेको कारागारका जेलर गणेश अधिकारीले बताउनुभयो । कैदीबन्दीले रु २०० को लगानीमा एउटा मुढा निर्माण गरी रु २८० सम्ममा बिक्री गर्ने गरेका छन् । 

क्षेत्रीय कारागार झुम्कामा अहिले १ हजार ४३४ कैदीबन्दी रहेका छन् ।