पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

वाम एकता बैठक :  दुईवटा प्रतिवेदनलाई आवश्यकता अनुसार परिमार्जन गर्ने । 

radionepal


अच्युत अर्याल / रेडियो नेपाल
काठमाण्डौ । वाम एकता संयोजन समितिको आजको बैठकले समितिमा प्राप्त दुई ओटा प्रतिवेदनलाई आवश्यकता अनुसार परिमार्जन गरी पुनः समितिमा पेश गर्ने जिम्मेवारी दुवै दलका अध्यक्षलाई दिने निर्णय गरेको छ । 
    प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको संयोजन समितिको बैठकले कार्यदलले  तयार पारेको बैचारिक राजनीतिक प्रतिवेदन र अन्तरिम विधान तथा संगठनात्मक संरचनाहरुको एकिकरण सम्बन्धी सुझाव प्रतिवेदनमा आवश्यक परिमार्जन गरी छिट्टै समितिमा पेश गर्ने जिम्मेवारी दुवै दलका अध्यक्षलाई दिएको माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
      उपाध्यक्ष श्रेष्ठले कार्यदलले बैशाख ९ गते पार्टी स्थापना दिवसको अवसर पारेर पार्टी एकीकरणको घोषणा गर्न सुझाव दिए पनि प्रतिवेदनको अन्तिम टुङ्गो लागिनसकेकाले ९ गते नै एकीकृत पार्टी घोषणा गर्न तयारी नपुग्ने देखिएको बताउनुभयो ।
     एमाले महासचिव ईश्वर पोखरेलले बैशान ९ गते पार्टी एकीकरणको घोषणा नहुने भन्ने निर्णय नभएको उल्लेख गर्दै दुवै दलका अध्यक्षले पार्टी एकीकरणको प्रस्तावलाई छिटो भन्दा छिटो अन्तिम रुप दिनुहुने जानकारी दिनुभयो । महासचिव पोखरेलले दुई पार्टीको एकीकरण पछि नयाँ पार्टी बन्ने भएकाले चुनाव चिन्ह र प्रतिनिधित्वका विषयमा विवाद नरहेको प्रष्ट गर्नुभयो ।
     संयोजन समितिमा एमालेका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेल रहनु भएको छ भने माओवादी केन्द्रका तर्फबाट अध्यक्ष प्रचण्ड, उपाध्यक्ष नारायणकाजि श्रेष्ठ र महासचिव रामबहादुर थापा रहनु भएको छ ।