पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

फूलबारी पकडिया गढ सलहेश मेला सम्पन्न

लहान- प्रदेश नं २ को लहान नगरपालिका अन्तर्गत फूलबारी पकडीया गढ र मानिक दह मेला धुमधाम साथ सम्पन्न भयो ।  हजारौँको संख्यामा नेपाली तथा भारतीय दर्शनार्थीको उत्तिकै घुइँचो लागेको थियो । हिन्दू धर्मावलम्बीका देवता बाबा सलहेशको नयाँ वर्षको पहिलो र दोस्रो दिनमा पूजाअर्चना गर्ने परम्परा चलन रहेको छ । 

यहाँको फूलबारी बगँैचामा फुल्ने फूल सो दिन मात्र फुल्ने गर्दछ । फूलबारी पर्यटकीयस्थलको रुपमा महत्व पाउँदै आएको छ । फूलबारी तथा मानिक दहमा स्नान गरी पूजाअर्चना गर्नाले आ–आफ्नो मनोकामना सफल हुने दर्शनार्थीको विश्वास छ । 

पकडिया गढ धार्मिकस्थलमा राजा कुल्हेश्वरकी छोरी चन्द्रावती र सलहेशको पौरानिक कथा अनुसार माटोका मूर्तिहरु गढको ढिस्कोमा रहेका छन् । ढिस्कोमा पुराना ठूलठूला साखुका रुख रहेका छन् भने वरिपरि आँपको बगैँचा रहेको छ । गाउँलेहरु मेलामा पाठो, बोका र परेवाको बलि साँझपख चढाउने गर्दछन् । 

साथै, राजमैसोथा सिरहामा सलहेश मेला धुमधामसँग सोही दिन सम्पन्न भयो । बाबा सलहेशलाई मधेशी नेपाली र भारतीय समुदायका मानिस प्रत्येक नयाँ वर्षका दिन भव्यताका साथ पूजाअर्चना गर्ने परम्परा चलन छ । सिरुवा तथा जुडशीतल पर्व यसै दिन मनाउने चलन रहिआएको छ ।