पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सर्वोच्चद्वारा करीव ८ हजार मुद्दा फछ्र्यौट

radionepal

काठमाडौँ, ३ वैशाख २०७५ । सर्वोच्च अदालतले आइतवार देखि नियमित पत्रकार सम्मेलन शुरु गरेको छ । 

नियमित पत्रकार सम्मेलन गर्दै सर्वोच्च अदालतले ९ महिनामा ८ हजार ३२४ मुद्दा फछ्र्यौट गरेको विवरण सर्वाजनिक गरेको हो । 

अदालत परिसरमा पत्रकार सम्मेलन गरेर अदालतका प्रवक्ता नारायणप्रसाद पन्थीले साउनदेखि चैतसम्म ८ हजार ३२४ मुद्दा फछ्र्यौट गरेको बताउनुभयो । 

सर्वोच्चले नियमित पत्रकार सम्मेलन गर्ने कार्य तालिकाअनुसार पहिलो पटक पत्रकार सम्मेलन गरेर मुद्दाको फछ्र्यौट विवरण सार्वजनिक गरेको हो । 

उहाँले गत वर्षभन्दा यो वर्ष मुद्दा फछ्र्यौट बढेको बताउनुभयो । गत वर्ष २७ हजार ९२९ मुद्दामा २९.८ प्रतिशत मात्र मुद्दा फछ्र्यौट भएको उहाँले बताउनुभयो । 

विसं २०७४ भन्दाअघि २१ हजार १७३ मुद्दा र विसं २०७४ मा ६ हजार ७५६ मुद्दा सर्वोच्चमा परेका थिए । उहाँले अतिरिक्त समयमा न्यायाधीशले काम गरेको र एउटै प्रकृतिका मुद्दालाई एकै ठाउँमा ल्याएर सुनुवाइ गर्दा मुद्दा फैसला बढेको बताउनुभयो । 

उहाँका अनुसार अझै १९ हजार ६०५ मुद्दा फछ्र्यौट गर्न बाँकी रहेको छ । अदालतमा गत वर्ष दुई वर्ष नाघेका ४ हजार ४३१ र ५ वर्ष नाघेका १ हजार २२६ मुद्दा फछ्र्यौट गरिएको छ, जसको प्रतिशत क्रममा ३३.९६ प्रतिशत र ३५.५४ प्रतिशत रहेको छ । 

अबदेखि सबै सञ्चार माध्यमलाई अदालतका न्याय सम्पादनबारे जानकारी गराउने उद्देश्यले आइतबारदेखि बिहीबारसम्म साँझ ५ देखि ५ः३० बजेसम्म र शुक्रबार ३ः३० देखि ४ बजेसम्म पत्रकार सम्मेलन गर्ने भएको छ ।