पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

२.५ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर

दार्चुला, ३ वैशाख २०७५ । विद्यालय उमेर समूहका २.५ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर रहेको जिल्ला शिक्षा कार्यालय दार्चुलाले जनाएको छ । जिल्लाका १ देखि ५ वर्ष विद्यालय भर्ना हुने उमेर समूहका बालबालिका अझै पनि विद्यालयबाहिर रहेको कार्यालयको तथ्यांकमा छ । 

नेपालभरिमा नै विद्यार्थी भर्ना दर ९७.२ प्रतिशत रहेकामा दार्चुला जिल्लाको विद्यार्थी भर्ना दर केही माथि रहेको पाइएको छ । 

यसैबीच आइतबारबाट विद्यार्थी भर्ना अभियान शुरु भएको छ । ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभुत शिक्षा’ भन्ने नाराका साथ दुई चरणमा विद्यार्थी भर्ना अभियान शुरु भएको जिल्ला शिक्षा कार्यालय दार्चुलाका निमित्त जिल्ला शिक्षा अधिकारी जयराज पन्तले जानकारी दिनुभयो । पहिलो चरणमा आइतबारदेखि १४ गतेसम्म सघन कार्यक्रमअन्तर्गत विद्यार्थी भर्ना अभियान सञ्चालन गरिने उहाँले बताउनुभयो । 

यसैगरी पहिलो चरणअन्तर्गत नै विद्यार्थीको हातहातमा निःशुल्क पाठ्यपुस्तक पुग्ने गरी वितरण गरिने कार्यक्रम रहेको छ । 

यस्तै दोस्रो चरणअन्तर्गत १५ देखि ३० गतेसम्म भर्ना हुन छुटेका बालबालिकाको पहिचान गरी भर्ना अभियान सञ्चालन गरिने उहाँले बताउनुभयो । दोस्रो चरणअन्तर्गत घरदैलोमै गई विभिन्न छलफल, अन्तरक्रिया तथा अभिमुखीकरण गरी भर्ना हुन छुटेका बालबालिकालाई भर्ना गरिने अभियान सञ्चालन गर्ने तयारी भइरहेको छ । 

जिल्लामा गत वर्षको तथ्यांकअनुसार २७८ बालबालिका विद्यालयबाहिर रहेका छन् । यस वर्ष कति विद्यालयबाहिर छन् भन्ने कुराको सर्वे हुन बाँकी रहेको उहाँले बताउनुभयो । गत वर्षको तथ्यांकलाई हेर्ने हो भने जिल्लामा विद्यार्थी भर्ना दर वृद्धि गर्न निकै चुनौती देखिएको छ । बालबालिका विद्यालयबाहिर रहनुको कारणमा आर्थिक अवस्था कमजोर रहेको देखिएको छ । 

जिल्ला शिक्षा कार्यालयको गत वर्षको तथ्यांकअनुसार विद्यालय टाढा भएको कारण ५, शारीरिक अपांगता भएका कारण ७, घरायसी कामले गर्दा १०, पढ्न मन नलागेर ७ मजदुरी, अर्काको घरमा काम गर्नु पर्ने कारणले १, बालविवाहका कारण २ र बसाइँसराइका कारण १ तथा विभिन्न कारणले १६२ जनाले विद्यालय जान नसकेको तथ्यांक छ ।