पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

टिम चौराहा डी पी एल को विजेता

धनगढी । साविकको विजेता टिम चौराहा धनगढी दोस्रो संस्करणको डी पी एल–२ को च्याम्पियन बनेको छ । काठमाडौं गोल्डेन्सलाई २१ रनले पराजित गर्दै टिम चौराहा धनगढी लगातार दोस्रोपटक च्याम्पियन बनेको हो । 

खेलको म्यान अफ द म्याच चौराहाका लागि अलराउन्ड प्रदर्शन गरेका रोहन मुस्तफा घोषित भए । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका चौराहा धनगढीका ललितसिंह भण्डारीले प्रतियोगिताको मोष्ट भ्यालुएबल खेलाडी घोषित हुदै सुनको जुत्ता प्राप्त गरेका छन् । जुत्ताको बाहिरी भाग पूरै सुन र भित्री भाग चाँदी रहेको छ ।

टिम चौराहा धनगढीले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको काठमाडौले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६० बनायो । काठमाडौंका लागि ओपनर ब्याट्सम्यान अमित श्रेष्ठले सर्वाधिक ५८ रन बनाएपनि टिमलाई जिताउन सकेन । टिम कप्तान ज्ञानेन्द्र मल्लले ३० रन बनाए ।  

धनगढीका ललितसिंह भण्डारीले ३ विकेट लिए । रोहन मुस्ताफाले २ तथा शम्साद शेख र योगेन्द्रसिंह कार्कीले समान १ विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको घरेलु धनगढीले निर्धारित २० ओभरमा ४ विकेट गुमाए र १ सय ८१ रनको योगफल तयार पार्यो । 

धनगढीका लागि ओपनर ब्याट्सम्यान सुनिल धमलाले सर्वाधिक ७८ रन बनाए । रोहन मुस्ताफाले ६० रन बनाए । सुनिल र रोहनले दोस्रो विकेटको लागि ९० बलमा १ सय ४२ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए । काठमाडौंका सुवोध भाटीले दुई विकेट लिए । सन्नी पटेलले १ विकेट लिए । 

च्याम्पियन बनेको घरेलु टोली टिम चौराहा धनगढीले २५ लाख रुपैयाँ प्राप्त गर्यो । दोस्रो भएको काठमाडौं गोल्डेन्सले १० लाख रुपैया प्राप्त गर्यो । तेस्रो भएको महेन्द्रनगर युनाइटेडले ३ लाख तथा चौथो भएको सिवाइसी अत्तरियाले २ लाख रुपैयाँ प्राप्त गरे । 

चैत १७ गतेबाट शुरु भएको राउन्ड रोविन लिगको आधारमा भएको प्रतियोगितामा विभिन्न ६ टिमले सहभागिता जनाएका थिए ।