पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सरिता अर्यालको कथासंग्रह ‘पुरुष’ सार्वजनिक

काठमाडौँ, २५ चैत २०७४ । कथाकार सरिता अर्यालको दोस्रो कथासंग्रह ‘पुरुष’ शनिवार विमोचन गरिएको छ । 

नेकपा (माओवादी केन्द्र)का प्रवक्ता तथा सांसद पम्फा भुषाल, राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिम्सिना, कवयत्री कुन्ता शर्मा, लेखक सरिता अर्याललगायतले संयुक्त रुपमा विमोचन गर्नुभयो । 

पुस्तकमाथि टिप्पणी गर्दै आयुक्त तिम्सिनाले कथामा लेखिकाले आफैँले देखेका पात्रका कथालाई सिलसिलाबद्ध रुपमा समावेस गरेको बताउनुभयो । उहाँले पुरुषमाथि भइरहेका घटनालाई यथार्थ रुपमा उतारेको बताउनुभयो । 

समीक्षक महेश पौड्यालले कथामा महिला पुरुषबीच हुने प्रेम, बिछोड, पुरुषद्वारा प्रताडित महिलाका कथा व्यथा नै समेटिएको बताउनुभयो । उहाँले लेखकले समाजमा घटिरहेका घटनालाई यथार्थपरक ढंगले प्रस्तुत गरेको बताउनुभयो । 

त्यसैगरी, कथाकार अर्यालले यौन मनोविश्लेषणात्मक कुरालाई यथार्थपरक घटनालाई प्रस्तुत गरिएको बताउनुभयो । उहाँले पुरुषको विरोधका लागि पुस्तकको नाम ‘पुरुष’ नराखिएको स्पष्ट पार्दै पुस्तकमा समाजमा पुरुषकाकारण घरमा भएको अवस्थाको बारेमा चित्रण गरिएको बताउनुभयो । 

विभिन्न १६ अध्यायमा लेखिएको उक्त पुस्तकमा लेखिकाले वैदेशिक रोजगारमा पुरुष जाँदा हुने घरको अवस्था तथा लैङ्गिक विभेदका बारेमा वढी प्राथमिकता दिएर यो पुस्तक लेख्नुभएको छ ।