पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

विमान दुर्घटनामा परेकाको शव बङ्लादेश पुर्यायो

काण्माण्डौ, ६ चैत २०७४ । नेपालमा केहीदिन अगाडी भएको विमान दुर्घटनामा परी निधन भएका बङ्गलादेशी नागरिकहरुको शव सोमबार बंगलादेश पुर्र्याएकोछ ।
स्वदेश फिर्ता लगिएका २३ ओटा शवको सामुहिक शवयात्रा गराउने तयारी भइरहेको अधिकारीहरूले जानकारी दिएका छन् । 
बङ्गलादेशको वायु सेनाको मालवहाक विमानबाट लगिएका शवहरु हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको थियो । 

राजधानी ढाकामा रहेको सो विमानस्थलमा उक्त विमान स्थानीय समय अनुसार दिउसो ४ः५० बजे अवतरण गरेको थियो । 
विमानस्थलमा शव ल्याएका बेला सत्तारुढ दल अवानी लिग पार्टीका महासचिव तथा सडक यातायात मन्त्री ओबैडुल क्वेडर विमानस्थलमा पुग्नु भएको थियो । 

शवहरु मध्ये विमानका चालक अबिद सुल्तान, सहचालक प्रिथुला राशिद र टोलीका सदस्यहरू खवाजा हुसेन मोहम्मद शाफी र शर्मिन अक्टेर नाविलालगायतका रहेका छन् । 
बङ्लादेशको निजी विमान कम्पनी युएस बङ्लादेश एयरलाइन्सको विमान यही मार्च महिनाको १२ तारिखमा नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा ५१ जनाको मृत्यु भएको थियो । विमानमा कुल ७१ जना यात्रु रहेका थिए । 

बङ्गलादेशको राजधानी ढाका स्थित सैनिक मञ्चमा शवहरू लगिएपछि सयौं आफन्त तथा सर्वसाधारणहरु दुःख व्यक्त गर्न भेला भएका थिए । सामुहिक शवयात्रापछि मृतकका आफन्तलाई शव हस्तान्तरण गरिने भएको छ । 

विमानमा रहेका ७१ जना मध्ये चार जना चालक दलका सदस्य र बाँकी ६७ जना यात्रु रहेका थिए । उनीहरु मध्ये ३२ जना बङ्गलादेशका नागरिक थिए भने ३३ जना नेपाली, एक एक जना चीन र माल्दिभ्सका नागरिक रहेका थिए । 

शवहरुको पहिचान गर्नु पर्दा ढिला भएकाले दुर्घटना भएको लामो समयपछि मात्रै शवहरु बंगलादेश पठाएको हो ।