पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बंगलादेशी पर्यटन मन्त्रीसहितको टोली काठमाडौँमा

काठमाडौँ । हिजो दुर्घटनामा परेको यूएस बंगला विमानको अवस्था बारेमा जानकारी लिन बंगलादेश सरकारको उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल आज काठमाडौं आइपुगेको छ । 

बंगलादेशका नागरिक उड्डयन मन्त्री एकेएम शाहजान कमल र परराष्ट्र राज्यमन्त्री शाहरिर अलाम तथा नागरिक उड्डयन प्राधिकरण, बंगलादेशका उच्च अधिकारीसहितको टोली नेपाल आएको हो । 

उच्चस्तरीय सरकारी टोली यूएस बंगला विमान दुर्घटनाबारे जानकारी लिन नेपाल आएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिनुभयो । 

दुर्घटनमा परी घाइते २२ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भएकामा आज दुई जना नेपाली अस्पतालबाट डिस्चार्ज भएको प्रहरी प्रवक्ता मनोज न्यौपानेले बताउनुभयो । 

विमानमा सवार चालक दलका सदस्यसहित ५१ जनाको मृत्यु भएको छ । विमानमा चारजना चालक दलका सदस्यसहित ७१ यात्रु रहेका थिए ।