पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

काम नगर्ने ठेकेदारलाई कारवाही गरिने

काठमाडौं । ठेक्का लिने तर समयमै काम सम्पन्न नगर्ने ठेकेदारहरुलाई सरकारले कारवाही गर्ने भएको छ । 

काठमाडौँ उपत्यकामा सडक विस्तार, खानेपानी सञ्जाल र प्रदूषण लगायतका विषयमा आज काठमाडौंमा आयोजित छलफल कार्यक्रममा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले गलत काम गर्ने र मापदण्ड पूरा नगर्ने ठेकेदारहरुलाई सरकारले कडा कारवाही गर्ने बताउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रमान गुरुङले उपत्यकामा धुलोधुवाँ नियन्त्रणका लागि सडक निर्माण एवं मर्मत कार्य समयमा नै सम्पन्न गर्न तथा सवारी साधनको उचित व्यवस्थापनमा जुट्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अर्का सचिव प्रेमकुमार राईले काठमाडौं उपत्यकामा निर्माणाधीन परियोजनामा मापदण्ड पालना गराउन र तत्काल परिणाम देखिने गरी नमूनाका रूपमा काम गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभयो ।

अर्थ मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले स्रोत सुनिश्चितता भइसकेका कुनै पनि योजनामा बजेटको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्कीले सवारी साधनको प्रदूषण नियन्त्रणमा आगामी वैशाख १ गतेदेखि नयाँ नियम लागू हुन लागेको जानकारी दिनुभयो ।

जनसंख्या तथा वातावरण सचिव प्रकाश माथेमाले काठमाडौँ उपत्यकामा प्रदूषणको प्रमुख कारण सडकको धुलो र सवारी साधनको बढ्दो चाप भएको बताउनुभयो ।