पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

अन्तराष्ट्रिय महिला उद्यमी व्यापार मेला चैत्रमा हुने

काठमाडौं । नेपालमा आगामी चैत्र ८ गतेदेखि १२ गतेसम्म तेस्रो अन्तराष्ट्रिय महिला उद्यमी व्यापार मेलाको आयोजना हुने भएको छ ।

महिला उद्यमी महासंघ नेपालले ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजना गर्ने मेलामा नेपाल भरका साना तथा मझौला महिला उद्यमीहरु, व्यापारीहरु, निर्यात गर्ने महिला उद्यमीहरु तथा विदेशी महिला उद्यमीहरुको सहभागिता रहने छ ।

नेपाल सरकारका विभिन्न निकायहरु, गैह्र सरकारी र अन्तराष्ट्रिय संघ संस्थाहरुको सहयोगमा आयोजना हुन लागेको मेलामा १ सय भन्दा बढी महिला उद्यमीहरुले उत्पादन गरेका वस्तुका स्टलहरु राखिने सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

मेलामा नेपाल लगायत भारत थाइल्याण्ड, पाकिस्तान, बंगलादेश आदि मुलुकका महिला उद्यमीहरुले उत्पादन गरेका हस्तकला लगायतका विभिन्न वस्तुको प्रर्दशनी गरिने छ ।

हाल देशभरमा ३ हजार भन्दा बढी महिला उद्यमीहरु रहेका र त्यस मध्येमा देशका ग्रामीण क्षेत्रका ४ सय ५० जना महिलालाई महासंघले विगत ३ वर्षको अवधिमा उद्यमी बनाएको महासंघका अध्यक्ष शारदा रिजालले जानकारी दिनुभयो । 

मेलाको क्रममा महिलाहरुको श्रम, सीप तथा लगानीको पहिचान गर्ने र नेपाली वस्तुको आन्तरिक तथा बाह्य बजार पर्वद्धन गर्ने मेलाका संयोजक सुनिता श्रेष्ठले जानकारी दिनुभयो ।