पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘बेरोजगारी समस्या समाधानको माध्यम साना उद्योग’

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले देशमा विकराल बन्दै गएको बेरोजगारी समस्याको समाधान र कृषिजन्य उत्पादनको उचित उपयोग गर्ने माध्यम भनेकै लघु, घरेलु तथा साना उद्योग भएको बताउनु भएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको २४ औं साधारणसभा तथा २१ औं राष्ट्रिय महिला उद्योगी सम्मेलनका क्रममा सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले उत्पादक र उद्यमी नागरिक निर्माणका लागि सरकारले पूर्वाधार विकासमा सघाउने र स्वदेशी उत्पादनलाई अन्तराष्ट्रिय मुलुकमा निर्यात गर्न सहजीकरणका लागि अन्तराष्ट्रिय नियोगसँग सहकार्य गर्ने बताउनुभयो ।

अर्थमन्त्री खतिवडाले साना तथा मझौला उद्योगहरू, पर्यटन, कृषि, पूर्वाधार विकासमा लगानी प्रवद्र्धन गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिने बताउनुभयो । 

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवले स्वदेशमा उत्पादित वस्तुलाई प्रोत्साहन गरेमात्र देश विकास हुन्छ भन्नु भयो । मन्त्री यादवले सरकारले निजी क्षेत्रमा गर्नुपर्ने कामबारे योजना बनाएर ल्याउन आग्रह गर्नुभयो ।

कार्यक्रममा महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले देश विकासको मुख्य आधार नै साना तथा घरेलु उद्योग भएकाले त्यस क्षेत्रको विकासका लागि सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।

सम्मेलनमा घरेलु तथा साना उद्योगमार्फत महिलालाई कसरी अगाडि बढाउन सकिन्छ भन्नेबारेमा गहन छलफल हुने महासंघका महासचिव डम्बरप्रसाद रेग्मीले जानकारी दिनुभयो ।