पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम प्राथमिकतामा

 

नवलपरासी - जिल्लाका विभिन्न वन क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापनको काम प्रभावकारी रुपमा अघि बढाइएको छ । दुईवटा साझेदारी, ३२ वटा सामुदायिक वन र चार हजार हेक्टर चक्ला वन क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापनको काम प्रभावकारी रुपमा अघि बढाइएको हो । 

वन क्षेत्रको उचित व्यवस्थापन, वन संरक्षण र वन सदुपयोग गर्ने उद्देश्यले वैज्ञानिक वन व्यवस्थापनको काम प्रभावकारी रुपमा अघि बढाइएको जिल्ला वन अधिकृत विजयराज सुवेदीले जानकारी दिनुभयो । 

वैज्ञानिक वन व्यवस्थापनअन्तर्गत वन क्षेत्रमा रुखको नक्सांकन, रुखको वर्गीकरण समयावधि पुगेका पुराना रुख कटान अन्य रुख संरक्षण र कटान गर्ने स्थानमा नयाँ रुख रोपण गर्ने गरिन्छ । जिल्लामा यस वर्ष करिब १० हेक्टर वन क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापन गर्ने योजना छ । वैज्ञानिक वन व्यवस्थापनका लागि चक्रिय प्रणालीमा पुराना रुख काट्ने र नयाँ रुख रोप्ने काम सँगसँगै गर्ने गरिन्छ । 

नवलपरासी (बर्दघाट–सुस्ता) पूर्व र बर्दघाट सुस्ता–पश्चिममा आवश्यकताअनुसारको वन क्षेत्रमा वन व्यवस्थापनको काम प्रभावकारी रुपमा अघि बढाइएको हो । कार्यालयले इन्टरनेट माध्यमद्वारा मोबाइल डाटा व्यवस्थापन ट्र्याकिङ प्रविधिको प्रयोग गरेर वन व्यवस्थापनको काम अघि बढाएको हो । 

जनशक्ति र सवारी साधनको व्यस्थापन, छिटो छरितो काम गर्नका लागि सो प्रविधि प्रयोग गरी वन क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापनको काम गरिँदै आएको जिल्ला वन अधिकृत सुवेदीको भनाइ छ । जिल्लामा यस वर्ष साझेदारी वनतर्फ एक हजार ८०० हेक्टर क्षेत्रफल, सामुदायिक वनतर्फ छ हजार र चक्ला वनतर्फ चार हजार हेक्टरमा वैज्ञानिक वन व्यवस्थापनको काम जारी छ । साझेदारी वनतर्फ बुद्धशान्ति साझेदारी वन र पारिजात सामुदायिक वन रहेका छन् । 

कार्यालयले अनलाइन मोबाइल एप्स तयार गरी २४ वटा मोबाइल सेटमा सो प्रविधि व्यवस्थापन गरी दिनभर भएका काम फिल्डबाटै इन्टरनेट मोबाइलमा अपडेट हुने व्यवस्था मिलाएको छ । सो प्रविधिमार्फत फिल्डमा खटिएका कर्मचारीले इन्टरनेटको माध्यमद्वारा गरेका काम तत्कालै सो एप्समा अपडेट गर्ने र त्यसबाट सम्बन्धित फाँट वा शाखामा गरिएको कामको प्रगति तत्काल थाहा हुने व्यवस्था मिलाइएको छ । 

कार्यालयलाई आवश्यक कर्मचारी, १५ वटा प्रत्येक इलाका कार्यालय, तीनवटा सशस्त्र वन रक्षक क्याम्पमा मोबाइल सेट उपलब्ध गराएको छ । वैज्ञानिक वन व्यवस्थापन सरकारको प्रमुख प्राथमिकता प्राप्त कार्यक्रम हो । सुर्खेत, दाङ, बर्दिया, प्यूठान, कैलाली, कपिलवस्तु, रुपन्देही, पाल्पा, नवलपरासी, मोरङलगायत जिल्लामा सो कार्यक्रम लागू भएको छ । कपिलवस्तुको तिलौराकोट सामुदायिक साझेदारी वनमा पहिलो पटक वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू भएको थियो ।