पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

वन्यजन्तु अपराध न्युनिकरणको प्रयास गर्दै सरोकारवाला निकाय  

श्याम खतिवडा/रेडियो नेपाल 
चरिकोट । पुर्वि पहाडी जिल्ला दोलखामा वन्यजन्तु क्षेत्रको प्रत्यक्ष सरोकार राख्ने सरकारी निकाएहरुले  वन्यजन्तु अपराधका घटनाको न्युनिकरण अभियान सुरु गरेका छन् । गत आर्थिक वर्षहरुको तुलनामा यो आर्थिक वर्ष वन्यजन्तु अपराधका घटनामा कमी आएसँगै यसलाई पुर्णरुपमा अन्त्य गर्ने योजनाका साथ अभियान सुरु गरिएको हो । गौरीशंकर संरक्षण क्षेत्र सम्पर्क कार्यालय दोलखाले सोमबार दोलखा सदरमुकाम चरिकोटमा आयोजना गरेको वन्यजन्तु अपराध नियन्त्रण ब्युरो बैठकका सहभागीहरुले वन्यजन्तु अपराधका घटनालाई पुर्णरुपमा अन्त्य गर्न अभियाननै सञ्चालन गर्ने निर्णय गरे । उनिहरुले मुलुक संघिय संरचनामा प्रवेश गर्दै तिन तहको सरकार सक्रिय रहेकाले जंगली जनावरहरुको संरक्षणका लागि स्थानीय सरकारलाई जिम्मेवार बनाएर हातेमालो गर्दै वन्यजन्तु संरक्षणमा जुट्न अनुरोध गरेका छन् । 
बैठकमा सहभागी जिल्ला वन कार्यालय दोलखाका प्रमुख वन अधिकृत गोबिन्द प्रसाद दाहालले वन्यजन्तु अपराधका घटनालाई पुर्णरुपमा अन्त्य गर्न स्थानीय सरकारलाई सकृय बनाउन आवश्यक कानुनहरु निर्माण गर्नुपर्ने बताए । उनले प्रदेश सरकार कानुन निर्माणको तयारीमा जुटिरहेकै बेला वन क्षेत्र र वन्यजन्तुको संरक्षणका लागि यो अभियान कोसेढुंगा हुने भन्दै प्रदेश सरकारको ध्यानाकर्षण समेत गराएका छन् । बैठकमा जिल्ला समन्वय समितिका सदस्य मुरारी शिवाकोटी , भिेमेश्वर नगरपालिकाकी उपमेयर कमला बस्नेत लगाएतले वन्यजन्तु संरक्षणमा स्थानीय सरकारलाई जिम्मेवार बनाइनुपर्ने बताएका थिय । 
वन्यजन्तु अपराधका घटनामा कमी 
गौरीशंकर संरक्षण क्षेत्र दोलखा सम्पर्क कार्यालयका प्रमुख सम्पर्क अधिकृत अमृत शर्माले विगतको तुलनामा धेरै न्युन भएको बताए । उनले दोलखामा संरक्षण क्षेत्र स्थापना भएदेखि हालसम्म १३ वटा वन्यजन्तु अपराधका घटना दर्ता भएका मध्ये यो आर्थिक वर्ष एक मात्र मुद्दा दर्ता भएको प्रतिक्रिया दिए । अधिकृत शर्माले दर्ता भएका मुद्दामध्ये जिल्ला अदालतबाट १२ वटाको फैसला भैसकेको र एउटाको भने थुनछेक बहस सकिएर फैसलाको तयारीमा रहेको बताएका छन् । यता जिल्ला वन कार्यालयको तथ्याङ्कमा पनि अघिल्ला वर्षहरुको तुलनामा यो वर्ष निकै कमि आएको देखिएको छ । कार्यालयका नायब सूब्बा राजेन्द्र सुबेदिका अनुसार गत आर्थिक वर्ष ३ वटा मुद्दाउपर कार्वाही भएकोमा यो आर्थिक वर्ष भने एकमात्र मुद्दा दर्ता भएको छ । 
तातोपानी नाका बन्द भएसँगै वन्यजन्तु निकासीमा कमी आएको निष्कर्श 
बैठकका सहभागीहरुले छिमेकी देश चिन प्रवेश गर्ने तातोपानी नाका बन्द भएसँगै वन्यजन्तु अपराधका घटनामा कमी आएको निष्कर्ष निकालेका छन् । जिल्ला वन अधिकृत गोबिन्द दाहालले दोलखाबाट तस्करहरुले वन्यजन्तु पैठारी गर्ने मुख्य नाकानै तातोपानी भएको र उक्त मार्ग बन्द भएकाले घटनामा कमी आएको हुनसक्ने बताए । उनले दोलखा ट्रान्जीट पोइन्टमात्र भएको बताउदै जिल्ला भित्रबाट कारोबार नभएपनि अन्य जिल्लाहरुबाट दोलखाको बाटो हुँदै कारोबार गर्ने तस्करहरु मुख्य चुनौती रहेको बताएका छन् । उनले घटनामा कमी आयो भन्दै चुप लागेर बस्ने अवस्था नआएकाले गम्भिर हुन सुरक्षा निकायलाइ अनुरोध समेत गरेका छन् ।