पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

दृष्टिविहीन भए पनि गाएरै परिवार पालेको छु

काठमाडौँ- दृष्टिविहीन कमल रायमाझीले सडक, पेटी वा चोकमा गीत गाएर दिनमा कम्तीमा रु पाँचसय आम्दानी गर्नुहुन्छ । त्यसरी चोकहरुमा गीत गाएर कमाएको पैसाले नुवाकोटका कमलले आफ्ना तीन छोरा÷छोरी र श्रीमतीको समेत पालनपोषण गर्दै आउनुभएको छ । 

सिन्धुपाल्चोकका दृष्टिविहीन अमर राईले पनि सडकमै गीत गाएर आफ्नो जीविकोपार्जन गर्दै आउनुभएको छ । कमल र अमरले मात्रै होइन यसरी राजधानीका सडकमा गीत गाएर धेरै दृष्टिविहीनले राम्रैसँग जीविकोपार्जन गर्दै आएका छन् । 

दृष्टिविहीन सडकमा मात्र होइन राजधानीका दोहोरी साँझमा समेत आफ्नो कला प्रस्तुत गरेर जीविकोपार्जन गर्दै आएका छन् । “हामी आँखा नदेख्ने दृष्टिविहीन भनेपछि यिनीहरुले केही नि गर्न सक्दैनन्, यिनीहरु समाजका बोझ हुन् भन्ने नजरले हेरिन्छ, हामी दृष्टिविहीन भए पनि धेरै गर्न सक्छौँ,” काठमाडौँको दोहोरी साँझमा गीत गाउने धिरेन राईले गुनासो गर्नुभयो । 

नेपाल नेत्रहीन संघका अध्यक्ष रमेश पोखरेल राज्यका हरेक संरचनामा दृष्टिविहीनको समान सहभागितासँगै उनीहरुको क्षमता अनुसारको रोगजारीको सुनिश्चितता गर्नुपर्छ भन्नुहुन्छ । शरीरका अंग र शारीरिक प्रणालीमा भएको समस्याले भौतिक, सामाजिक, सांस्कृतिक वातावरणका साथै सञ्चारबाट सिर्जना भएको अवरोध समेतले दैनिक क्रियाकलाप सामान्यरुपमा सञ्चालन गर्न एवं सामाजिक जीवनमा पूर्ण सहभागी हुन कठिनाइ हुने अवस्थालाई अपांगता भनिन्छ । 

राष्ट्रिय अपांग महासंघ नेपालका अध्यक्ष सुदर्शन सुवेदीले सबैभन्दा पहिला अपांगता भएका व्यक्तिले केही पनि गर्न सक्दैनन् भन्ने भन्दा पनि गर्न सक्छन् भन्ने सोचमा सकारात्मक परिवर्तन ल्याउन जरुरी छ भन्नुभयो । 

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरिको कूल जनसंख्याको करिब १५ प्रतिशत मानिससँग कुनै न कुनै प्रकारको अपांगता रहेको हुन्छ । अपांगता अधिकारकर्मी टीका दाहालले अपांगतासम्बन्धी कानूनलाई कडाइका साथ कार्यान्वयन गरेको खण्डमा अपांगताका धेरै अधिकार प्राप्त हुने बताउनुभयो । 

नेपालको पछिल्लो जनगणना– २०६८ अनुसार अपांगता भएका व्यक्तिको हिस्सा कूल जनसंख्याको १ दशमलब ९४ प्रतिशत अर्थात् पाँच लाख १३ हजार ३२१ जना रहेका छन् । यसमा शारीरिक अपांगता भएका व्यक्ति ३६ दशमलब ६, दृष्टिविहीन १६ दशमलब पाँच र सुन्नमा समस्या भएका १५ दशमलब चार प्रतिशत रहेका छन् । 

त्यसैगरी, बोलाइसम्बन्धी अपांगता भएका व्यक्ति ११ दशमलब पाँच, श्रवण दृष्टिविहीनसम्बन्धी एक दशमलब आठ, मानसिक अपांगता ६, बौद्धिक अपांगता दुई दशमलब नौ र बहुअपांगता भएका सात दशमलब पाँच प्रतिशत रहेका छन् ।