पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

माघ मसान्तसम्म पूँजीगत खर्च १९.७५ प्रतिशत

काठमाडौं । चालू आर्थिक वर्षको माघ मसान्तसम्म मुलुकको पूँजीगत खर्च १९.७५ प्रतिशत मात्र भएको छ ।

यस अवधिमा पूँजीगत खर्चको लक्ष्य ३ खर्ब ३५ अर्ब १७ करोड ५९ लाख रहेकोमा माघ मसान्तसम्म ६६ अर्ब १९ करोड १७ लाख मात्र पूँजीगत खर्च भएको छ । 

त्यसैगरी वित्तीय व्यवस्थातर्फ यस अवधिमा १ खर्ब ४० अर्ब २८ करोड ७४ लाख लक्ष्य राखिएकोमा फागुन १ गतेसम्म २५ अर्ब ५ करोड ८२ लाख भएको छ । जुन लक्ष्यको १७ दशमलव ८६ प्रतिशतमात्र हो । 

यो खर्चमा बजेटमार्फत स्थानीय तहमा हस्तान्तरण गरिने २ खर्ब २५ अर्ब समावेश भएको छैन । यो रकममध्ये १ खर्ब ५० अर्ब स्थानीय निकायमा हस्तान्तरण गरिसकेको छ । देशको राज्य संयन्त्र निर्वाचनमा लाग्न परेको र मुलुकका विभिन्न भागमा गएको प्राकृतिक प्रकोपका कारणले विकास खर्च कम देखिएको अर्थ मन्त्रालयले जनाएको छ ।

स्थानीय तहमा भएको खर्चको विवरण संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले राख्दै आएको छ । महालेखा नियन्त्रक कार्यालयले राख्ने हिसाब र स्थानीय विकास मन्त्रालयले राख्ने हिसाब जोड्दा पूँजीगत खर्चको आकार केही बढ्न सक्ने अवस्था रहेको अर्थ मन्त्रालयले जनाएको छ ।