पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

महाशिवरात्री पर्व मनाइँदै

काठमाडौं । आज महाशिवरात्री पर्व आराध्यदेव भगवान शिवको पूजाआराधना गरी मनाईदै छ । 

वैदिक सनातन हिन्दु धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजा आराधना गर्छन । 

आराध्यदेव शिवजी प्रकट हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक ४ प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रुपमा शिव पुराणलगायत ग्रन्थमा बर्णित छ । 

मानवमा शिवत्वको असल भाव जागृत गर्न प्रेरणा दिने पर्व भएकाले शिवरात्री पर्वको विशेष महत्व रहेको छ । 

शिवरात्रीका अवसरमा भगवान पशुपतिनाथको दर्शन गर्न र शिबरात्रीको मेला भर्न नेपालका विभिन्न क्षेत्र र भारतबाट समेत ठुलो संख्यामा पशुपतिनाथ मन्दिरमा श्रदालु भक्तजनको घुईचो लागेको छ । 

महाशिवरात्रिकै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले पशुपतिनाथ मन्दिरमा पूजा एवम् दर्शन गर्नुभएको छ । 

पूजा एवम् दर्शनका लागि पहिले उपराष्ट्रपति पुन पशुपति मन्दिर पुग्नुभएको र  आधा घण्टापछि राष्ट्रपति भण्डारीले पशुपतिनाथमा पूजा एवं दर्शन गर्नुभएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । 

शिवरात्रीका अवसरमा खोटाङको हलेसी महादेव, एकमात्र जुंगे महादेवको मूर्ति नेपालगञ्जमा भएको बागेश्वरी मन्दिर, सप्तरीको शम्भुनाथ महादेव, महोत्तरीको जलेश्वर महादेव लगायतका देशभरका महादेव मन्दिरहरुमा ठूलो घुँइचो लागेको हाम्रा समाचारदाताहरुले जनाएका छन् ।