पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

वित्तीय तरलताका कारण जलविद्युत आयोजना प्रभावित

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता संकटका कारण निर्माणाधीन जलविद्युत् आयोजनाहरु प्रभावित भएका छन् । 

निर्माण सम्पन्न हुने चरणमा रहेका साना ठूला गरी ५० जलविद्युत् आयोजनाले पछिल्लो दुई महिनादेखि रकम नपाउँदा निर्माण व्यवसायीलाई भुक्तानी गर्न सकेका छैनन् । 

चालू आर्थिक वर्षको अन्त्यसम्म निर्माण सम्पन्न हुने क्रममा रहेका एक दर्जन आयोजना सबैभन्दा बढी मारमा परेको ऊर्जा उद्यमीको भनाइ छ । करिब ८० मेगावाट क्षमताको काबेली करिडोरका ५ आयोजना चालू आर्थिक वर्षको अन्त्यसम्म सम्पन्न हुने चरणमा थिए । रकम अभावका कारण ती आयोजना सम्पन्न हुने मिति समेत पर सरेको छ । 

यस्तै, मर्स्याङ्दी करिडोर, मोदी करिडोर, खिम्ती करिडोरका आयोजना समेत मर्कामा परेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाईंले बैंक तथा वित्तीय संस्थाले जलविद्युत् आयोजनालाई रकम दिन पछिल्ला दिनमा अस्वीकार गरेका कारण ५० भन्दाबढी आयोजना समस्यामा परेको बताउनुभयो । 

इपानका अनुसार १ खर्ब ४८ अर्ब रकम बैंकबाट निकासा हुन सकेको छैन । सहवित्तीयकरणमा दुई वा दुईभन्दा बढी बैंक तथा वित्तीय संस्थाले गरेको संयुक्त लगानी अन्तर्गतको कर्जा उपलब्ध नभएको हो । 

त्यस्तो प्रतिबद्धता जनाएको रकम उपलब्ध गराउन बैंकहरूले नसक्ने आयोजना प्रवद्र्धकलाई जानकारी गराएका कारण गुनासो आउने क्रम बढेको अध्यक्ष गुरागार्इंको भनाइ छ । 

जलविद्युत् क्षेत्रमा अग्रणी रूपमा लगानी गर्नेमा एनएमबी बैंक रहेको छ भने ग्लोबल आइएमई र प्राइम कमर्शियल बैंकले पनि उल्लेख्य मात्रामा लगानी गरेका छन् । 

सबै वाणिज्य बैंकले सहवित्तीयकरणमा जलविद्युत् आयोजनामा लगानी गरेका छन् । वित्तीय सम्झौता गरेका बैंकले तत्काल कर्जा नदिए पनि केही समयपछि भने दिनैपर्ने हुन्छ । बैंकमा लगानीयोग्य रकम नभएको भन्दै उनीहरूले पैसा दिन बन्द गरेको गुनासो इपानले गरेको छ । 

ऊर्जा क्षेत्रमा लगानी गर्ने अर्को अग्रणी बैंक ग्लोबल आइएमईका प्रमुख कार्यकारी अधिकृत जनकराज शर्मा पौडेलले मौद्रिक नीति र वित्तीय नीतिबीच तादम्यता नहुँदा तरलतामा समस्या देखिएको उल्लेख गर्नुभयो । 

सरकारले आगामी १० वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ स्वदेशी बैंक तथा वित्तीय संस्थालाई उल्लेख्य रूपमा लगानी गर्न आग्रह गरेको थियो । सोही आग्रह बमोजिम ७० आयोजनासँग बैंक तथा वित्तीय संस्थाले ऋण उपलब्ध गराउने सम्झौता गरेका छन् ।