पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

खुकुरी कप टि–२० क्रिकेटको क्वार्टरफाईनल समीकरण पुरा

काठमाडौंमा जारी खुकुरी च्यालेञ्जर्स कप टि–२० क्रिकेटको क्वार्टरफाइनल समीकरण पूरा भएको छ ।

मूलपानी क्रिकेट मैदानमा सोमबार भएका खेलहरुमा टिकापुर क्रिकेट क्लबलाई पराजित गर्दै अन्तर जिल्ला स्पोर्टस क्लब क्वार्टरफाइनलमा पुग्यो भने रौतहट ११ सँग पराजित भए पनि मकवानपुर क्रिकेट क्लबले अन्तिम आठमा स्थान सुरक्षित गर्यो ।

सोमबारको पहिलो खेलमा रौतहटले मकवानपुरमाथि ५ रनको रोमाञ्चक जित निकाल्यो । टस हारेर पहिले ब्याटिङ गरेको रौतहटले २० ओभरमा ९ विकेट गुमाएर १०० रनमात्र बनाउन सक्यो । १०१ रनको लक्ष्य पछ्याएको मकवानपुरले २० ओभरमा ८ विकेट गुमाएर ९५ रनमात्र बनाउन सक्यो । 

अर्को खेलमा टिकापुर क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै अन्तर जिल्ला स्पोर्टस क्लब समूह विजेता बन्यो । टिकापुरले दिएको १२० रनको लक्ष्य अन्तरजिल्लाले ४ विकेट गुमाएर १८.५ ओभरमा पूरा गरेको थियो । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको टिकापुरले १६ ओभर १ बलमा सबै विकेट गुमाएर ११९ रन बनाएको थियो । प्रतियोगिता अन्तर्गत मंगलबारदेखि क्वार्टरफाइनल चरणका खेलहरु सुरु हुनेछन् । 

मंगलबार हुने पहिलो क्वार्टरफाइनलमा शान्तिनगर युथ क्लब र त्रिभुवन आर्मी तथा दोस्रो खेलमा काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर र ग्रेट हिमालय क्रिकेट एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ । 

त्यस्तै, बुधबार हुने बाँकी क्वार्टरफाइनल खेलहरुमा बालुवाटार क्रिकेट क्लब र मकवानपुर क्रिकेट क्लब तथा अन्तिम क्वार्टरफाइनलमा रायल पीसी फाइटर र अन्तर जिल्ला क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुनेछ ।