पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सिरहामा बालिका बलात्कृत,  बलात्कारी  फरार  

संजय बिश्वकर्मा/रेडियो नेपाल
सिरहा । सिरहा नगरपालिकामा ११ वर्षीया बालिका बलात्कृत भएकी छन् । घर नजिकै रहेको गोठमा बस्तुभाउलाई पराल हाल्न गएकी बालिकालाई स्थानीय २४ वर्षीय सुरेश ठाकुरले बिहीबार साँझ मुख थुनेर बलात्कार गरेको हो । बालिकाको लहानमा उपचार जारी रहेपनि रक्तश्राव नरोकिएको परिवारजनले जनाएको छ । उपचारमा रहेकी बालिकाको कुरुवा बसेका आफन्तले भने ‘बोल्न समेत अप्ठ्यारो छ, चिकित्कसकले पनि नबोल्न भनेका छन् ।’ पीडित परिवारका अनुसार आरोपी युवकले मदिरा सेवन गरेर बलात्कार गरेको अनुसन्धानबाट खुलेको छ ।


आरोपी ठाकुर फरार रहेकाले पक्राउ पर्न सेकको छैन । बालिका बलात्कारको घटना गाउँमै मिलाउने प्रयत्न गरेपनि रक्तश्राव नरोकिएर अवस्था गम्भिर भएर अस्पताल ल्याएपछि मात्र चार दिनपछि घटना सार्वजनिक भएको हो । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक शेखर कोइरालाका अनुसार बलात्कारमा संलग्न ठाकुर फरार रहेकाले पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ ।


‘पीडित परिवार बालिकाको उपचारमा लागेकाले किटानी जाहेरी पनि परेको छैन’ प्रहरी उपरीक्षक कोइरालाले भने ‘जाहेरी परेपछि फरार रहेका ठाकुर विरुद्ध मुद्दा दर्ता गरी कारबाहीको प्रकृया अगाडि बढाउने छौं ।’
‘घटनाको सूचना पाए लगत्तै ठाकुरलाई पक्राउ गर्न प्रहरी टोली पुग्नु अगावै बाबु रामलखन ठाकुर र दाजु जमिन ठाकुरले भगाएछन्’ प्रहरी उपरीक्षक कोइरालाले भने ‘मुख्य आरोपी फरार गराइएपछि तत्काल अनुसन्धानका लागि मतियारको काम गर्ने बाबु र दाजुलाई नियन्त्रणमा लिएका छौं ।


बलात्कारपछि अत्यधिक रक्तश्राव हुँदा उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल सिरहा ल्याइएको थियो । सिरहा अस्पतालमा उपचार गर्दा पनि रक्तश्राव नरोकिएपछि थप उपचारका लागि लहान पठाइएको सिरहा अस्पतालले जनाएको छ ।  घटनाको बारेमा थप  अनुसन्धान गरी दोशीलाई कडा कारबाही गर्न मानबअधिकारको क्षेत्रमा क्रियाशिल संस्था अप्शन नेपाल शाखा  सिरहा लगायत मानबअधिकार , महिलाअधिकारको क्षेत्रमा काम गर्ने   बिभिन्न संगठनहरुले माग गरेका छन ।