पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

६ नम्वरलाई नमुना प्रदेशको रुपमा विकास गर्छु :महेन्द्र बहादुर शाही

radionepal

पुर्वउर्जामन्त्री एवं नेकपा माओवादीका केन्द्रका सचिवालय सदस्य महेन्द्र बहादुर शाही अहिले प्रदेश नम्वर ६ को मुख्यमन्त्रीका रुपमा चर्चामा रहेका छन् । मुख्यमन्त्री बनाउने गरी शाहीलाई विहीवार बसेको माओबादी केन्द्रको प्रदेश संसदीय दलको बैठकले दलको नेता चयन गर्यो । प्रस्तुत छ प्रदेश नम्वर ६ का भाबी मुख्यमन्त्री शाही संग यसै सेरोफेरोमा रहेर गरिएको कुराकानी :

  • माओबादी केन्द्रले तपाइलाई प्रदेशसभा संसदीय दलको नेता छनोट गरेकोमा बधाई छ ।

धन्यवाद यहाँ लगायत सम्पुर्ण पत्रकार साथीहरु, मलाई संसदीय दलको नेतामा छनोट गर्ने सांसद साथीहरु, राजनितिक दल, लगायत मेरो माउपार्टीका अग्रज लिडरहरु र आम मतदाता सबैलाई ।

  • संसदीय दलको नेता भइसक्नुभयो, अब मुख्यमन्त्री हनेमा ढुक्क हुनुहुन्छ होलानी ?

मैले यस अघि पनि भनेको थिए, म पदका लागी मरिहत्ते गर्ने मान्छे हैन । मेरो इतिहास हेर्ने हो भनेपनि जीवन बलिदानको लडाइ र संर्घष गरेर सबै त्याग गर्दै आएको मान्छे हुँ  ।  तर पार्टी र क्रान्तिले जिम्मा दिएपछि देश र जनताको संमृद्धी महेन्द्र शाहीबाट सम्भव छ भनेर मुल्यांकन गरेर दिइयो भने पछि हट्दिन ।

अहिले पनि त्यही हो, हामी पार्टीको सिष्टममा बसेको कार्यकर्ता हुनुको नाताले अझै पनि पार्टीको निर्देशनको पर्खाइमा छु । स्वभाविक हिसावले मलाई साथीहरुले संसदीय दलको नेता चुनिसके पछि त परम्पराका हिसावले पनि सरकारको नेतृत्व उसैले गर्ने प्रचलन छ । त्यसैले बाहिर जे बुझाई छ, त्यो स्वभाविक रहेको छ । त्यसैले विश्वास गरेर जिम्मेवारी दिएमा सक्छु भन्ने आँट म संग छ ।

  • एका तर्फ प्रदेशको ठुलो शक्ति बाम घटक दल एमाले छ, अर्को तर्फ कांग्रेस पनि संगै छ आफ्नै पार्टीका नेताहरुलाई पनि मिलाएर लैजानुपर्ने जिम्मेवारी तपाइको काधँमा आइपुगेको छ । कसरी मिलाएर अगाडी लैजानुहुन्छ ?

राजनितिमा उतारचढाव भनेको स्वत आउँछ नै । तर म संग मिलाएर लैजान सक्ने त्यो क्षमता पनि छ । नभए त्यसका लागि मेरो साथमा पार्टी छ । अर्को म संग देशैभरीको अनुभव पनि छ । मैले उर्जामन्त्री भएर देशका लागि केही महत्वपुर्ण काम गरिसकेको छु । त्यसैले पनि सर्वप्रथम म अब केवल माओबादी पार्टीको मात्र नेता होइन ।

म सिंगो प्रदेशको मुख्यमन्त्री भएपछि मैले प्रदेशका सबै जिल्लाको सेन्टीमेन्ट बुझेर त्यसै अनुसार काम गर्नुपर्ने हुन्छ । त्यसका लागि पनि सबैलाई मिलाएर लैजाने छु । मैले सकेसम्म नेपाली कांग्रेसलाई पनि आफु सत्ता बाहिर भएको महशुस हुन दिन्न ।

पार्टी एकताकै चरणमा रहेको एमाले संग पनि साथ,सहयोग,सुझाबका साथ अगाडी बढ्छु । एमाले,जसका कार्यकर्ता,समर्थकहरुले पनि मत दिएर मलाई निर्वाचित गराउनुभयो ,त्यो पार्टीलाई पनि संगै मिलाएर अगाडी बढ्ने छु ।

  • यो प्रदेशको मुख्यमन्त्री तपाई नै हुनुपर्ने चाँही किन नी ?

मुख्यमन्त्री मेरो रहर होइन । म सिंगो नेपालको उर्जामन्त्री भएर अनुभव संगाली सकेको छु । कुरा के हो भने यो पार्टी आन्दोलन र आवश्यक्ताको कुरा हो । यो केवल मैले चाहेर हुने बिषय पनि होइन ।

म मात्रै मुख्यमन्त्री हुनुपर्छ,मै हो मुख्यमन्त्री भनेर कहीँ कतै भनेको थिएन र छैन पनि । न चुनावको प्रचार प्रसारका बेला जनताको अगाडी बोलें, न त अहिले कहीँकतै कुनै ठाउँमा बोलेको नै छु । जनता र पार्टीको आबश्यक्ताले माग्छ भने म सक्षम छु भनेको हुँ । अहिले मलाई संसदिय दलको जिम्मा दिइएको छ,यसमा म खुसी छु ।

मैले के भनेको हुँ भने लामो समय राष्ट्रिय राजनीतिका लागि दिएँ । अहिले पछिल्लो समयमा केही समयका लागि सबैभन्दा गरीबीको रेखामुनी रहेको र विकासका दृष्टिकोणले सबैभन्दा पछाडी रहेको प्रदेश नम्वर ६ लाई केही समय दिनुपर्छ भनेर मैले सोचेको हुँ । जुन प्रदेशमा म जन्मे,हुर्के,बढे र यहीबाट क्रान्ति गर्न सिँके ।

जुन परिवर्तनका लागि भनेर मैले युद्ध लडेँ त्यो परिवर्तनको आभास दिलाउन पनि मैले आफ्नै प्रदेशमा रहेर केही काम गर्नुपर्छ भन्ने लाग्यो । त्यस कारण म प्रदेशसभामा आएको हुँ । मेरो टिकट त प्रतिनिधिसभामा थियो । सायद पार्टीले मेरो आवश्यक्ता पनि प्रदेशमा देखेको भएर होला,प्रदेशसभाका लागि उम्मेद्वारी दिन लगायो । त्यसै अनुसार प्रदेशमा निर्वाचन लडे,जिते पनि र अहिले यहाँ छु ।

  • अब तपाई यो प्रदेशको मुख्यमन्त्री हुने लगभग पक्कापक्की जस्तै छ, प्रदेशको विकासका लागि के गर्नुहुन्छ ?

पहिले त संघीय संरचनामा देशलाई रुपान्तरण गर्नुपर्यो । केही संघीय संसदका नियमावली, कानुन, ऐन बनाएर संघीय संसदलाई कार्यान्वयन गर्नुपर्यो । विषेशगर गाउँपालिका, नगरपालिका र वडा कार्यालय व्यवस्थित छैनन् ।

तिनिहरुको ब्यवस्थापन गर्नुपर्नेछ । अर्को भनेको मानिसहरुलाई यो प्रदेशको उत्तरमा चीन जोडियो तर चीन संग सम्झौता छैन । बाटो छैन । दक्षिणमा भारत संग जोडिएको छैन । अली के नपुगेको नपुगेको जस्तो हुन्छकी भन्ने छ । अर्को भनेको यो प्रदेश जल,जंगल,जडिबुटी र पर्यटन , कृषिका हिसावले देशकै अर्थतन्त्र धान्न सक्ने धनी बन्न सक्छ भन्ने पनि छ ।

अब यी दुबैलाई मिलाएर लैजानुपर्नेछ । कतिपय प्रदेश अन्र्तगतका जिल्ला सदरमुकाममा समेत अहिले सड्क पुगेको छैन । विद्युत अपुग छ । जिल्लाहरुमा अस्पत्ताल, उच्च शिक्षाका लागि क्याम्पसहरु बनेका छैनन् । त्यसैले यी सबै कुराको मध्यनजर गरी केही न केही नयाँ काम गरी शन्देश दिने योजना छ । कमसेकम पनि ।

  • भौगोलिक रुपमा पनि अफुठ्यारो रहेको यो प्रदेशको समृद्धिका लागि के छन् तपाईका योजानहरु ?

मुख्य त यहाँको गरीबी हटाउने कुरा प्रमुख हो । त्यसको अन्त्यका लागि योजना र कार्यक्रम बनाउने हो । अर्को बेरोजगारी समस्या छ । हामी उद्योग, कलकारखाना सञ्चालनको काम अगाडि बढाउँछौं । संगै रोजगारीको सृजना गर्न निजी क्षेत्रलाई प्रोत्साहित गर्छौ । त्यसका लागि पूर्वाधार निर्माण आवश्यक हो, त्यसको काम पनि थालनी गर्छौ ।

सडक, विजुलीबत्ती, खानेपानी, स्वास्थ्य, शिक्षा, सिचाइँ नै यो प्रदेशका मुख्य बिकासका सुचक हुन । शुरुमा त आधारभूत आवश्यकता पूरा गर्दै पूर्वाधार निर्माण तर्फ लाग्ने होे । यदी काम गर्न सकियो भने म उर्जामन्त्री हुदाँ मात्रै यो प्रदेशमा थुप्रो बजेट बिनियोजन भएको छ । ठुलाठुला राष्ट्रिय गौरवका बिद्युत आयोजना बनेका छन । तिनको कार्यान्वयन भए यो प्रदेशलाई पनि उज्यालो अभियानमा जोड्न सकिन्छ ।

  • तपाई माओबादी लडाकु बाट आएको व्यक्ती, तपाई संग सत्ताको अनुभब छैन भनेर बिपक्षीहरुले भनेको पनि सुनिन्छ ?

हेर्नोस् यो नेपालमा कस्ले के बाल्यो,कस्ले के भन्यो भनेर बोल्नेको मुख थुन्न सकिदैन । पहिलो कुरा त मुख्यमन्त्री हुदाँ या नहुदाँ महेन्द्र शाही उस्तै हो, जुनसुकै परिस्थितिमा पनि डगमगाउँदैन । सबै भन्दा ठुलो चाहिने भनेकै शाहास र आँट हो ।

अनुवका कुरा गर्नुहुन्छ भने म यो प्रदेशका जनताको घरघरमा के पाक्छ, कुन जंगलमा के बोट बिरुवा छन, त्यस संग पनि परिचित छु । त्यो भन्दा बढी अनुभव के हुन सक्छ ? अनुभव भन्नाले के अनुभव चाहीएको हो ? जनताको सम्बृद्धिका लागी चाहीने अनुभव त्यही हो,जुन म संग छ । बिगतमा पनि लडाईमा हुदाँ जनताको घरघरमा के समस्या छन् ती कुराहरु मलाई थाहाँ छ ।

यदी त्यसो नै हो भने अनुभव भनेको के पटक ,पटक सत्तामा पुग्ने र सत्ताको कुर्सीलाई बार्गेनिङ्गका रुपमा लिने हो ? सिद्धान्त रटान गरेको पन्डितले मात्रै गर्न सक्छ भन्ने हो ? त्यसो होइन, म दुइ दुई पटक सांसद भएर राज्य ब्यवस्थाको राम्रो अनुभव लिई सकेको व्यक्ती हुँ । उर्जाको क्षेत्रमा मन्त्री भएर काम गरिसकेको छु ।

उर्जाकै क्षेत्रमा प्रदेश नम्वर ६ को विकास गर्नकै लागि पनि म संग अनुभव छ । त्यसैकारण पनि लाग्छ म अब यो प्रदेशको सम्बृद्धिका लागी उपयुक्त पात्र हुँ । त्यही अनुसार अगाडी बढेर काम गर्छु ।

प्रस्तुती
रत्न कार्की /कालीकोट