पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

माथिल्लो तामाकोसी ढिलाई प्रति सरकारको चासो  

radionepal

श्याम खतिवडा/रेडियो नेपाल
दोलखा  । भारतीय निर्माण कम्पनीका कारण स्वदेसी लगानीमा निर्माणाधिन बहुचर्चित माथिल्लो तामाकोसी जलविद्युत आयोजना ढिलाई हुने निस्चित भएपछि सरकारले चासो देखाएको छ । 
आयोजनाको लट २ अन्तर्गत हाइड्रोमेकानिकल तर्फको जिम्मा पाएको भारतीय कम्पनी टेक्सम्याको रेल्वे इन्जिनियरिङले लक्ष्य अनुसारको काम सम्पन्न नगर्दा आयोजना ढिलाइ हुन लागेको समाचार सार्वजनिक भएपछि  सरकारले उपप्रधान तथा उर्जामन्त्री कमल थापालाई आयोजनाको अनुगमन गर्न मंगलबार माथिल्लो तामाकोसी निर्माणस्थल लामाबगर पठाएको हो । 
मन्त्री थापाले आयोजनास्थल पुग्नुअघि दोलखा सदरमुकाम चरिकोटमा आयोजित पार्टीका अगुवा  कार्यकर्ता भेटघाट कार्यक्रम पछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै माथिल्लो तामाकोसी ढिलाई बारे सरकारको गम्भिर ध्यानाकर्षण भएको बताए । उनले स्वदेसी लगानीमा निर्माणाधिन मौलीक मोडेलको आयोजना पटक पटक समय लम्बीरहेको भन्दै अनुगमन गर्न लागिएको बताएका छन् । उनले आयोजनाको सबै संरचनाहरुको छुट्टाछुट्टै अवलोकन गरी आबश्यक प्रकृया अगाडी बढाउने प्रतिबद्धता समेत जनाएका छन् । 
टेक्सम्याकोले दोस्र्रो प्याकेज अन्तर्गत हालसम्म ९ सय मिटर सुरुङमा पेनस्टक पाइप बिच्छयाईसक्नुपर्ने आयोजनाको लक्ष्य भएपनि कम्पनीले अहिले सम्म पेनस्टक ढुवानीको काम नै सकेको छैन । भारतीय कम्पनीको ढिलाइप्रती मन्त्री थापाले आयोजनास्थलको अवलोकनपछि सरकारले आवश्यक कदम चाल्ने बताएका छन् । 
 

२.५ वर्ष ढिलाई हुने संकेत 
टेक्सम्याकोले गरेको सम्झौता अनुसार २०७१ चैत्र मसान्त भित्रै आबश्यक उपकरण आयोजनास्थलसम्म ढुवानी गरिसक्नुपर्ने थियो । तर अहिलेसम्म ५० प्रतिशत पनि उपकरण ढुवानी भैसकेको छैन । उपकरण ढुवानी असाध्यै सुस्त गतिले अगाडी बढेको देखिन्छ । यही अनुपातमा हिसाब गर्ने हो भने कम्पनीले ढुवानी गर्नका लागि मात्र ९ सय ६ दिन अर्थात् अढाई वर्ष लगाउने देखिन्छ । आयोजना व्यवस्थापनले निरन्तर ताकेता गर्दा पनि ठेकेदार कम्पनीले आलटाल गर्दा समय धेरै गुज्रिने दखिएको हो । केही समय अघि विद्युत् प्राधिकरण र ऊर्जा मन्त्रालयबाट गएको उच्चस्तरीय टोलीले सो कम्पनीको काम त्यति चित्तबुझ्दो नरहेको बताएको थियो ।

दुई महिनाअघि ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय तथा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोलीले समयसीमाभित्र काम सम्पन्न गर्न आयोजना प्रमुख र ठेकेदार कम्पनीलाई निर्देशन दिएका थिए । उच्चस्तरीय टोलीले सबै निर्माण व्यवसायीको कार्यशैली र कार्यक्षमता उच्चगतिमा परिचालन गर्नुपर्ने भन्दै भारतीय कम्पनीले काम ढिलो गरेको बताएका थिए । सरकारले आयोजना निर्माणका लागि अत्यावश्यक सम्पूर्ण स्रोत–साधन र बजेट समयमा नै उपलब्ध गराएको भन्दै कुनै पनि हालतमा काम नरोक्न यसअघि नै प्राथमिकतामा राखेको छ ।

भारतीय कम्पनीलाई कुटनितिक दबाब दिइने 
टेक्सम्याको इन्जिनियरिङ भारत सरकार सँग सहज पहँुच राख्ने निर्माण कम्पनी भएको जानकारहरुले बताएका छन् । उक्त कम्पनीले भारत सरकारकै इसारा अनुसार आयोजनाको काममा ढिलासुस्ती गरेको हुनसक्ने कतिपयको तर्क छ । किनकी तामाकोसी आयोजना समयमै सम्पन्न हुँदा भारत सरकारले निरन्तर नेपाललाई बिजुली विक्रि गर्ने बाटो बन्द भई उल्टै तामाकोसीको बिजुली किन्नुपर्ने भएकाले पनि भारतीय सरकारकै इसारा अनुसार उक्त कम्पनीले आयोजना ढिलाई गरेको अनुमान जलविद्युतका जानकारहरुले गरेका छन् । सञ्चारकर्मीहरुसँग कुरा गर्ने क्रममा मन्त्री थापाले यदि उक्त विषय सत्य भएमा सरकारले कुटनितिक पहल गर्ने बताए । उनले आफु परराष्ट्र मन्त्री समेत भैसकेकाले कुटनितिक पहलका लागि थप सहज हुने जानकारी दिए ।