पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

देशभरको उडानको अवस्था थाहा पाउने राडार सञ्चालनमा

काठमाडौं । हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउने लक्ष्यका साथ सरकारले देशभरको उडानको अवस्था थाहा पाउने राडार सञ्चालनमा ल्याइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबारदेखि दोस्रो पुस्ताको राडार औपचारिक रुपमा सञ्चालनमा ल्याएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो । 

जापानी अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक तथा प्राविधिक सहयोगमा ललितपुरको भट्टेडाँडामा जडान गरिएको उच्च क्षमताका ‘टु जी राडार’ सञ्चालनमा आएसँगै देशको हवाई यात्रालाई सुरक्षित बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ । 
 
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हाल ६० एरोनटिकल माइल क्षमताको राडार सञ्चालनमा रहेकामा बिहीबारदेखि १२० एरोनटिकल माइलमा स्तरोन्नति भएको छ । नयाँ प्रणाली जडानसँगै आकाशमा जहाज ‘होल्ड’ गर्नुपर्ने समस्याको अन्त्य हुनेछ । 

विगतमा रेडियो तरंगमार्फत वायुयानको जानकारी लिन सकिन्थ्यो भने नयाँ राडारबाट श्रव्यदृश्यसहितको जानकारी लिन सकिने प्राधिकरणको दाबी छ । नयाँ राडार जडानपछि हवाई यात्रा सुरक्षित बनाउन मद्दत पुग्नेछ । उक्त राडारको लागत १ अर्ब छ । 

नयाँ राडारबाट काठमाडौंदेखि ४५० किलोमिटरको दूरीमा रहेका जहाजको अवस्थाबारे जानकारी लिन सकिने भएको छ । विभिन्न उचाइमा उडिरहेका जहाजको अवस्थाका बारेमा जानकारी लिन वा दिन सकिने छ । 

राडार जडानपछि नेपालको बाटो प्रयोग गर्दा अन्तरराष्ट्रिय वायुसेवा प्रदायकलाई समेत सहज हुने र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आवतजावत गर्ने सम्पूर्ण विमानको अवस्था जानकारी पाउन सहज हुनेछ ।