पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

५ बुँदे सहमतिपछि डा. केसीले अनशन तोड्नुभयो

काठमाडौँ । सरकारसँग ५ बुँदे सहमति भएपछि  प्राध्यापक डाक्टर गोविन्द केसीले आज अनशन तोड्नु भएको छ ।

स्वास्थ्यमन्त्री दीपक बोहरा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वणिम वाग्ले सम्मिलित टोली र डा. केसी पक्षका अधिवक्ता ओमप्रकाश अर्याल, डा. अभिषेकराज सिंह र डा. सुमन आचार्यको टोलीले वार्ता गरी ५ बुँदे सहमति गरेको थियो ।

चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन एक साताभित्र सिफारिश समिति गठन गर्ने, सर्वोच्च अदालतको आदेशअनुसार त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको डीनमा प्रा. डा. जगदीशप्रसाद अग्रवालको नियुक्तिलाई नै निरन्तरता दिनेलगायत ५ बुँदे सहमति भएको हो ।

प्रधानन्यायाधीसको राजीनामाको माग सम्बन्धमा सहमतिपत्रमा केही उल्लेख नभएपनि अनशन तोड्ने क्रममा उहाँले न्यायालयलाई भ्रष्टाचारमुक्त बनाउन आफ्नो लडाइँ सधैँ जारी रहने बताउनुभयो ।

त्रिवि शिक्षण अस्पताल अगाडि जुत्ता सिलाउने नथुनिया मोचीको हातबाट जुस पिएर डा. केसीले अनशन तोड्नुभएको हो ।