पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बजेट अभावका कारण पुल निर्माणमा समस्या

काठमाडौं । बजेट अभावका कारण देशभर निर्माणाधीन पुल समयमै सम्पन्न गर्न समस्या हुने भएको छ । 

चालु आर्थिक वर्षमा सडक विभाग पुल महाशाखा अन्तर्गत ३ अर्ब मात्रै बजेट विनियोजन गरिएको छ । तर निर्माण गर्नुपर्ने पुलको संख्या भने ९०० भन्दा बढी रहेका छन् । 

महाशाखाले ६२ अर्ब बराबरको ठेक्का लगाएको छ । तर बजेट भने असाध्यै कम भएका कारण निर्माणाधीन पुल तोकिएको समयमा सम्पन्न गर्न समस्या हुने गरेको सडक विभागले जनाएको छ । 

ठेक्का पूरा भई निर्माण भइरहेका ९११ वटा पुलको लागत मात्रै ६२ अर्ब भन्दा बढी रहेको छ । राजमार्गमा २७६ वटा पुल निर्माण भइरहेका छन् ।

सडक विभागका उपमहानिर्देशक एवं पुल माहाशाखाका प्रमुख अर्जुनजंग थापाका अनुसार ६२ अर्बको पुल निर्माण गर्न वर्षेनी १६ अर्ब रकम आवश्यक हुन्छ । बजेट अभावका कारण ४ वर्षे ठेक्का पूरा हुन समेत १० वर्षसम्म लाग्ने गरेको छ । 

चालु आवमा ५० वटा पुल निर्माण सम्पन्न हुने छन् । सरकारले आर्थिक वर्षको अन्त्यमा हरेक पटक रकमान्तर गरेर भए पनि बजेट उपलब्ध गराउने गरेको महाशाखा प्रमुख थापाले बताउनुभयो ।

हाल देशभर २ हजार ९ वटा पुल निर्माणाधीन रहेका छन । त्यसमध्ये नयाँ निर्माण भएका सडकमा ५०० वटा नयाँ पुल बनाउन माग आएको विभागले जनाएको छ । यस्तै ३०० वटा सहायक तथा पहुँचमार्गमा पुल निर्माण गर्नुपर्नेछ । यस्तै स्थानीय सडकमा पनि ९०० वटा पुल निर्माण गर्नुपर्ने देखिएको विभागले जनाएको छ । 

महाशाखाले आगामी दिनमा निर्माण हुने पुल ४ लेनको बनाउने तयारी विभागले गरेको छ ।  सडकको चौडाई विस्तारसँगै पुललाई पनि सोहीअनुसार पुनःनिर्माण तथा नवनिर्माण गर्न लागिएको सडक विभागले जनाएको छ ।