पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

स्टक एक्सचेञ्जमा सेयरको आपूर्ति बढ्ने क्रम जारी

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सेयरको आपूर्ति बढ्ने क्रम जारी रहेको छ । सूचिकृत कम्पनीहरुले गत बर्ष वितरित बोनस तथा हकप्रद सेयर नेप्सेमा सूचिकरण गर्दै जाँदा बजारमा सेयरको आपूर्ति बढ्न थालेको हो । 

यो साता मात्रै ५ कम्पनीका ३ करोड ३७ लाख कित्ताभन्दा बढी सेयरहरु बजारमा थपिएका छन ।

नेपाल स्टक एक्सचेन्जमा यो साता ३ अर्ब ३७ करोड ३३ लाख ८० हजार ९ सय ९० रुपैयाँ बराबरका ३ करोड ३७ लाख ३३ हजार ८ सय ९ दशमलव ९ कित्ता सेयर सूचीकृत भएका छन् । यो साता पाँच कम्पनीका हकप्रद र बोनस गरेर उक्त परिमाणको शेयर सूचिकृत भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
 
नेप्सेमा सूचीकरण भएको ७ दिनमा ती सेयरहरु दोस्रो बजारमा किनबेचका लागि योग्य हुन्छन् । यो साता सेयर बजारमा सामान्य सुधार देखिए पनि कारोबार भने घटेको छ । 

साताभर सेयरबजार परिसूचक नेप्से साताको पहिलो दिनको तुलनामा ८.४९ अङ्कले बढेर अन्तिम दिन १४४०.२९ अङ्कमा पुगेको छ । 

स्टकमा यो साता १ सय ७४ कम्पनीहरुको कारोबार भएको छ जसअनुसार १७ हजार ३ सय ९३ कारोबारहरुबाट ४१ लाख ५ हजार २ सय १० कित्ता सेयरहरु किनबेच भई १ अर्ब ७१ करोड १२ लाख ८४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । 

स्टकको कारोबार रकम गत साताको भन्दा ३६.७९ प्रतिशतले घटेको छ । यो साता कारोबार रकम, कारोबार भएको सेयर संख्या र कारोबार संख्या तीनै आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ ।