पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रदेश प्रमुखको नियुक्ति गर्न सरकारसँग आयोगको पुनः आग्रह

काठमाडौं । निर्वाचन आयोगले प्रदेश प्रमुखको नियुक्ति यथाशीघ्र हुने ब्यवस्था मिलाउन नेपाल सरकारसँग पुनः अनुरोध गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवको अध्यक्षतामा आज बसेको बैठकले यथाशीघ्र प्रदेश प्रमुखको नियुक्ति हुने ब्यवस्था मिलाउन सरकारसँग पुनः अनुरोध गर्ने निर्णय गरेको हो ।

प्रदेश प्रमुख नियुक्त नहुँदा राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रक्रियामा समेत प्रभाव पर्न सक्ने सम्भावना देखिएकोले निर्वाचन आयोग प्रदेश प्रमुखको नियुक्ति हुन नसकेको अवस्थाप्रति गम्भीर भएको छ, आयोगले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रदेश सभा सदस्य निर्वाचनको नतिजा घोषणा गरी ७ दिनभित्र प्रदेश प्रमुख समक्ष पठाउनु पर्ने कानूनी बाध्यता रहेको आयोगले स्पष्ट गरेको छ ।

आयोगले स्वीकृत गरेको राष्ट्रिय सभा सदस्य निर्वाचन कार्यक्रम अनुसार,  आगामी माघ ७ गते मतदाता नामावली प्रकाशन, माघ १० गते उम्मेदवारको मनोनयन पत्र दर्ता र माघ १५ गते उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।