पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेपाल र चीन इन्टरनेशनल कनेक्टिभिटीको सञ्जालमा जोडिए

काठमाडौं । नेपाल र छिमेकी मुलुक चीन सूचना महामार्ग (इन्टरनेशनल कनेक्टिभिटी) को व्यवसायिक सञ्जालमा जोडिएका छन् ।

नेपाल टेलिकम र चीनको चाइन टेलिकम ग्लोबलबीच ‘क्रसबोर्डर अप्टिकल फाइबर लिंक’ को माध्यमबाट शुक्रबारदेखि  औपचारिक रूपमै व्यावसायिक सेवा शुरु भएको छ ।

योसँगै २ कम्पनीले एक अर्काका देशमा दूरसञ्चार व्यवसाय विस्तार गर्न सक्ने भएका छन । यो शुरुवातसँगै नेपाल भारत र चीन दुुबै तर्फबाट विश्वव्यापी सूचना महामार्गमा आवद्ध भएको छ । 

नेपाल र चीन सूचना महामार्गमा जेडिएसँगै नेपाल चीन र भारतबीचको पारबाहन सम्पर्कस्थलका रूपमा नेपाललाई विकास गर्न सकिने अवस्था श्रृजना भएको छ । 

नेपाल र चीनबीच अरनिको राजमार्ग अन्तर्गत काठमाडौँदेखि खासा झाम्सुङसम्म १५५ किलोमिटर अप्टिकल फाइबर बिछ्याउने कार्य सन् २००८ अगष्टमा सम्पन्न भएको थियो ।

टेलिकम र तत्कालीन चाइना टेलिकम्युनिकेशन कर्पोरेशनबीच झाङ्मु र तातोपानीबीच ट्रान्सपोर्ट नेटवर्क इन्टरकनेक्सन गर्नेसम्बन्धी समझदारीपत्रमा सन् २०११ डिसेम्बर २६ मा हस्तक्षर भई काम भएको हो ।

सन् २०१३ डिसेम्बर २३ मा वैकल्पिक रुटका रूपमा नेपाल–चीन क्रसबोर्डर अप्टिकल फाइबर कनेक्टिभिटीका लागि आवश्यक चाइना–नेपाल केबुल ट्रान्समिसन प्रणाली निर्माण र मर्मतसम्बन्धी नेपाल टेलिकम र चाइना टेलिकम्युनिकेसन कर्पोरेशनबीच सम्झौता भएको थियो ।

सन् २०१५ को अप्रिल २५ मा गएको भूकम्पका कारण काठमाडौँ–तातोपानी रुट क्षतिग्रस्त भै सञ्चार कार्यमा  अवरोध सिर्जना भएको भयो । 

त्यसलगत्तै काठमाडौँ–रसुवागढी रुटका लागि आवश्यक लिंक निर्माणसम्बन्धी कार्य अगाडि बढाइ सन् २०१६ को मे महिनामा चाइना टेलिकम र नेपाल टेलिकम दुवैले अप्टिकल फाइबर कनेक्टिभिटीको परीक्षण सफलतापूर्वक सम्पन्न गरेका थिए ।