पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

भारोत्तोलनमा श्रेष्ठको नयाँ कीर्तिमान

पोखरा । नेपाली सेनाका दिनेश श्रेष्ठले भारोत्तोलनमा १९ वर्षअघिको कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएका छन् ।

राखेप च्याम्पियनसिप २०७४ अन्तर्गतको २३ औं पुरुष तथा आठौं महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा १०५ केजी तौलमा स्नाच तर्फको १९ वर्ष अघिको कीर्तिमानलाई भंग गर्दै नयाँ राष्ट्रिय कीर्तिमान लेखाएका छन् । 

उनले आज स्नाचमा १ सय २१ किलो तौल उठाए । यसअघि मदन शिवभक्तिको नाममा १ सय २० केजीको कीर्तिमान कायम थियो । शिवभक्तिले आठौं  साफ गेममा यो कीर्तिमान कायम गरेका थिए । 

स्नाचतर्फ नेपाल प्रहरीका सन्देश गुरुङ्गले १ सय केजीका साथ रजत र बाराका महमद आशिक हुसेनले ८८ केजीका साथ कास्य पाए । क्लिन एण्ड जर्क र कुलमा पनि दिनेशले स्वर्ण पाए । उनले क्लिनमा १४० केजी र कुलमा २६१ केजी भार बहन गरे । 

नेपाल प्रहरीका सन्देश गुरुङले क्लिनमा १३२ र कुलमा २३२ केजीका साथ रजत र बाराका महमद आशिकले क्लिनमा १०५ र कुलमा १९३ केजीका साथ कास्य पाए ।

पोखराको उद्योग वाणिज्य संघको हलमा भएको च्याम्पियनसिपमा सेनाकै पुकार गुरुङ्गले १०५ केजी माथिको तौलमा आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गर्दै स्वर्ण प्राप्त गरे । उनले स्नाचमा सातौं राष्ट्रिय खेलकुदमा राखेको १२४ केजी तौलमा सुधार गर्दै १२५ केजी भार बहन गरे ।