पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

राष्ट्रिय एकता बलियो बनाउन सहकार्य आवश्यकः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय एकता बलियो बनाउन सबै राजनीतिक दलबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ । 

राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा आज आयोजना गरेको चियापान समारोहमा उहाँले  एकले अर्कोलाई दोषारोपण गरेर नभई राष्ट्रियता र राष्ट्रिय एकताप्रति सबैको एकमत हुनुपर्ने बताउनुभयो । 

प्रधानमन्त्री देउवाले विभिन्न जातजाति, समुदाय, भाषा, संस्कृति र रहनसहनको संरक्षण गरी विविधतामा एकता कायम गर्न सकेमा राष्ट्रिय एकता थप मजबुद हुने बताउनुभयो । 

कार्यक्रममा प्रधानमन्त्री देउवाले दलीय सहमतिमा चाँडै प्रदेश प्रमुख तोक्ने तयारी भइरहेको पनि बताउनुभयो । उहाँले प्रदेशसभाका सदस्यलाई शपथग्रहण गराउनका लागि पनि प्रदेश प्रमुख र केन्द्र तोक्न आवश्यक रहेको बतनाउनुभयो । 

उपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापाले राष्ट्रिय एकता दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेकोमा प्रधानमन्त्रीलाई धन्यवाद दिनुभयो । 

कार्यक्रममा उपप्रधानमन्त्री  विजयकुमार गच्छदार, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, नेकपा (एमाले) का नेता सुवास नेम्वाङ, सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत लगायत मन्त्रीगण र सर्वसाधारणको सहभागिता थियो ।