पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

निर्वाचनमा ज्येष्ठ नागरिकदेखि किशोरकिशोरीको उत्साहपूर्ण सहभागिता

काठमाडौँ: प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनमा किशोर÷किशोरीदेखि ज्येष्ठ नागरिकसम्मले उत्साहपूर्ण सहभागिता जनाई मतदान गरेका छन् । ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, अशक्त र अपाङ्गता भएका व्यक्तिका लागि लाममा नबसीकनै मतदान गर्ने व्यवस्था मिलाइएको हुँदा उनीको उत्साहपूर्ण सहभागिता देखिएको हो । 

काठमाडौँ रत्नराज्यलक्ष्मी माविमा रहेको केन्द्रमा मत हाल्न आउनुभएकी स्थानीय ९१ वर्षकी ज्येष्ठ नागरिक मुनादेवी भट्टराईलाई मत हाल्न पाउँदा निकै खुशी लागेको छ ।मत हाल्न आउनुभएका ८७ वर्षीय मणि सिंह ठकुरीले पनि भोट हाल्न पाएकामा खुशी प्रकट गर्नुभयो ।
त्यस्तै, सोही मतदान केन्द्रमा मत हालेर फर्कनुभएका ७६ वर्षीय पञ्चनारायण महर्जनले जनप्रेमी र विकासप्रेमी उम्मेदवारलाई मत हालेको प्रतिक्रिया दिनुभयो । 
ज्येष्ठ नागरिक मात्र होइन, पहिलो पटक मतदान गर्ने अवसर पाएका किशोरकिशोरी पनि मतदान गर्न पाएर दङग देखिए । 

मनिशाजस्तै पहिलो पटक मत हाल्नुभएका १८ वर्षीय रमेश श्रेष्ठलाई पनि पहिलो पटक मतदान गर्न पाएकामा खुशी लागेको छ । मत हाल्ने आफ्नो नैसर्गिक अधिकारको सदुपयोग गर्दै ज्येष्ठ नागरिकदेखि किशोरकिशोरीले आज मतदानमा सक्रिय सहभागिता जनाए । नेपालको संविधानमा तीन तहको सरकारको व्यवस्था गरिएको छ र स्थानीय तहको निर्वाचनपछि आज दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन ४५ जिल्लामा भइरहेको छ । प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधिसभाका लागि एक हजार ६६३ र प्रदेशसभाका लागि दुई हजार ८१९ गरी कूल चार हजार ४८२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यसैगरी, समानुपातिक निर्वाचनतर्फ प्रतिनिधिसभाका ११० र प्रदेशसभाका २२० पदमा पाँच हजार ८३८ उम्मेदवार खडा भएका छन् । कूल एक करोड २२ लाख ३५ हजार ९९३ मतदाताका लागि सात हजार ७५२ मतदानस्थल र १५ हजार ३४४ मतदान केन्द्र तोकिएका छन् ।