पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

शान्तिपूर्णरूपमा मतदान कार्य सुरु: निर्वाचन आयोग 

radionepal

काठमाडौ-  देशका ४५ जिल्लामा दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान कार्य शान्तिपुर्ण रुपमा शुरु भएको निर्वाचन आयोगले जनाएको छ । आजको निर्वाचनमा १ करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आ–आफ्नो मतदान केन्द्रमा गई मताधिकार प्रयोग गर्ने आयोगले जनाएको छ  । प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्रमा र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका ७ हजार ७५२ मतदान स्थलका १५ हजार ३४४ मतदान केन्द्रमा आज मतदान भइरहेको छ  ।

निर्वाचन आयोगका  निर्वाचन आयुक्त इला शर्माले ललितपुर महानगरपालिका वडा नं. १०, कुमारीस्थान नर्सिङ अस्पताल मतदान केन्द्र,  निर्वाचन आयुक्त इश्वरीप्रसाद पौड्यालले ललितपुर महानगरपालिका वडा नं. २, टीका विद्याश्रम मा.वि., सानेपा मतदान केन्द्रबाट र  निर्वाचन आयुक्त सुधीरकुमार शाहले काठमाडौं महानगरपालिका वडा नं. ४, धुमबाराही मा.वि., धुमबाराही मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

यसैगरी, आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले टोखा नगरपालिका वडा नं. ८ स्थित भुवनेश्वर मन्दिर, गौरीगाउँ मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । अपरान्ह ५ बजेसम्म आफ्नो मतदाता नामावलीमा नाम रहेको मतदान केन्द्रमा प्रवेश गर्ने मतदाताले मात्रै मतदान गर्न पाउने व्यवस्था रहेको छ । मतदाताले मतदान केन्द्रमा जाँदा मोबाइल, लाइटर तथा अन्य सामानहरू मतदान केन्द्रभित्र लैजान नपाइने व्यवस्थासमेत रहेको छ ।