पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

एयर गन प्रतियोगिताका लागि नेपाली टोली जापान प्रस्थान

काठमाडौं । दशौं एसियाली एयर गन प्रतियोगितामा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली सुटिङ टोली मंगलबार जापानको वाको प्रस्थान गरेको छ ।

डिसेम्बर ६ देखि १२ तारिखसम्म हुने प्रतियोगितामा २ महिला खेलाडी सुस्मिता नेपाल र आयुशा केसीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । दुवैले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछन् ।

नेसनल राइफल एसोसिएन अफ जापानको आयोजनामा हुने प्रतियोगिताबाट सन् २०१८ मा अर्जेन्टिनामा हुने युथ ओलम्पिकका लागि खेलाडी छनोट गरिने छ ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत तालिम तथा प्रशिक्षण विभागका निर्देशक नवीन उप्रेती र सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले सोमबार सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच बिदाइ गर्नुभएको थियो ।

त्यस अवसरमा अध्यक्ष श्रेष्ठले खेलाडीले स्वर्ण, रजत र कांस्य जितेमा संघले क्रमशः १ लाख, ५० हजार र २५ हजार रुपैँया पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभयो ।

यसका साथै कार्यक्रममा उपस्थिति खेलाडीका अभिभावकले पनि स्वर्ण, रजत र कांस्य जितेको खण्डमा अध्यक्ष श्रेष्ठले घोषणा गरे जति रकम नै खेलाडीलाई उपलब्ध गराउने वाचा गर्नुभएको थियो ।