पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

यो वर्ष असिना पानी र रोगका कारण सुन्तला उत्पादनमा कमी

पाल्पा, १९ मंसिर २०७४ । यस वर्ष जिल्लामा सुन्तला उत्पादनमा कमी आएपछि किसान चिन्तित बनेका छन् । 

फूल फुल्ने समयमा असिना पर्नु र विभिन्न किसिमका रोगको आक्रमणले सुन्तला उत्पादनमा कमी आएपछि किसान मर्कामा परेका हुन् । 

सुन्तला खेती गरी जीविकोपार्जन गर्ने परिवारका लागि कम उत्पादनले समस्या भएको छ । रिब्दीकोट गाउँपालिकाकोे पालुङमैनादीका किसान चित्रबहादुर कुँवरले गत वर्ष करिब रु २ लाखको सुन्तला बिक्री गरेकामा अहिले रु १ लाख बराबरको बिक्री गर्नुभयो । 

सुन्तला उत्पादनका पकेट क्षेत्र मानिएको पालुङमैनादी, मुझुङ, छहरा, सोमादी, कुसुमखोलालगायतका क्षेत्रमा यस वर्ष सुन्तला उत्पादनमा निकै कमी आएको छ । जिल्ला कृषि विकास कार्यालयले प्राविधिक जाँच तथा परीक्षणमा सहयोग नगरेका कारण किसान मारमा परेका छन् । 

जिल्ला कृषि विकास कार्यालयका प्रमुख किशोरमान श्रेष्ठले किसानले बोटमा आवश्यक स्याहार, सुसार र मलजलमा कमी गर्दा उत्पादन घटेको बताउनुभयो । उहाँले सुन्तला टिपेपछि कम्तीमा ३ पटक नीलोतुथो, चुना छर्कनुपर्ने बताउनुभयो । 

निस्दी गाउँपालिका–५ गल्धा बहपुरका अगुवा किसान तेजन सिंजालीले यस वर्ष सुन्तला बिक्रीबाट रु २ लाख ५० हजार आम्दानी गर्नुभएको छ । 

उहाँले २ मुरी अन्नबाली समेत उत्पादन नहुने जग्गामा विगत ८ वर्षदेखि व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आउनुभएको छ । यस वर्ष करिब ४० क्विन्टल सुन्तला बिक्री गरेको उहाँले बताउनुभयो । 

झण्डै १५ रोपनी जग्गामा तीन३ सय बोट सुन्तला लगाउनुभएका सिंजालीले अहिले २ सय उत्पादनशील बोटबाट आम्दानी लिन शुरु गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, “सुन्तला खेती गर्न थालेपछि मनग्य आम्दानी भएको छ,” उहाँले भन्नुभयो, “पाखापखेरामा सुन्तला लगाएर रु २ लाखदेखि रु ३ लाखसम्म सजिलै आम्दानी गर्दैआएको छु ।” 

प्रतिकिलो रु ५० मा सुन्तला बिक्री गरेको सिंजालीले बताउनुभयो । “सुन्तला बिक्रीका लागि बजारको समस्या छैन,” उहाँले भन्नुभयो । यहाँ उत्पादन भएको सुन्तला रामपुरको बजारमा खपत हुन्छ । 

बहपुरकै अर्का किसान मानबहादुर ढेँगाले पनि सुन्तला बिक्रीबाट मनग्य कमाई गर्दै आउनुभएको छ । उहाँले करिब २० रोपनी जग्गामा ४ सय बोट सुन्तला लगाउनुभएको छ । ढेँगाले अहिले उत्पादनशील १५० बोटबाट रु २ लाख बराबरको आम्दानी लिइरहनुभएको छ । 

यस्तै, मुक्तबहादुर रानाले यस वर्ष सुन्तला बिक्रीबाट रु १ लाख ५० हजार आम्दानी लिइसक्नुभएको छ । उहाँले करिब २०० बोट सुन्तला लगाउनुभएको छ । यहाँका १६ घरपरिवारको आयआर्जनको माध्यम नै सुन्तला खेती बनेको छ । एउटा परिवारले ५० बोटदेखि ५०० बोटको हाराहारीमा सुन्तला खेती गरेका छन् । 

अन्य खेतीको तुलनामा सुन्तला खेतीबाट पर्याप्त आम्दानी गर्न सकिने भएपछि बहपुर क्षेत्रका कृषकले सुन्तला खेती गर्न थालेका हुन् । यस क्षेत्रलाई जिल्लाकै नमूना सुन्तलाको पकेट क्षेत्रका रुपमा चिनिन्छ ।