पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

६ वडाका किसानका लागि २ करोड २५ लाख विनियोजन

पर्वत । पर्वत फलेवास नगरपालिकाका ६ वटा वडाका किसानका लागि करिब रु २ करोड २५ लाख बजेट विनियोजन गरिएको छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत परम्परागत खेती प्रणालीबाट किसानलाई व्यावसायिक बनाउने योजनाका लागि उक्त बजेट विनियोजन गरिएको हो । 

चालु आर्थिक वर्षमा विभिन्न अनुदानमा मात्रै करिब रु डेढ करोड खर्च गरिने परियोजनाको जोन एकाइ कार्यालयले जनाएको छ । 

फलेवास–४ मुडिकुवामा चालु आर्थिक वर्षका कार्यक्रम सार्वजनिक गर्दै वरिष्ठ कृषि विकास अधिकृत वसन्तकुमार श्रेष्ठले मकै बीउमा अनुदानदेखि भण्डारणका लागि मेटलविनमा समेत अनुदानको कार्यक्रम ल्याइएको बताउनुभयो । 

भिरालो जमिन खनजोतका लागि मिनी पावर टेलर, मकै चुट्ने र प्रशोधन गर्ने मेसिन, कुटानी र पिसानी मिल, भकारो सुधार, साना तथा मझौला सिँचाइ, माटो परीक्षण, कृषि चुन र रासायनिक मललगायतमा पनि अनुदानको कार्यक्रम छ ।

५ सय हेक्टर जमिनमा मकै जोन कार्यक्रम सञ्चालनमा छ । फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले अब जोनलाई सुपरजोनमा स्तर वृद्धि गर्ने तयारी भइरहेको बताउनुभयो ।