हिन्दू राष्ट्र र राजसंस्था हुनुपर्छ ः नेता लोहनी

0

नुवाकोट, ८ वैशाख । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले मुलुकलाई हिन्दू राष्ट्र घोषणा र राजसंस्थाको पुनःस्थापनाका लागि नयाँ पार्टी गठन गर्नुपरेको बताउनुभएको छ ।

एकीकृत राप्रपा राष्ट्रवादी नुवाकोटको आयोजनामा बिदुरमा भएको बृहत् जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष लोहनीले संसारभर एक अर्ब ३० करोड बासिन्दा हिन्दू धर्मावलम्बी भएकाले त्यसको पहिचान हिमालय पर्वत रहेको नेपालबाट दिन हिन्दू राष्ट्रको स्थापना अनिवार्य रहेको बताउनुभयो ।
पार्टी एकतापछि राप्रपाबाट असन्तुष्टि भएर नयाँ पार्टी स्थापना गर्नुभएका लोहनीले हिन्दू धर्मसँगै पार्टीले राजसंस्था स्थापनामा आवाज उठाउने बताउनुभयो ।
कार्यक्रममा पार्टीका वरिष्ठ नेता केशरबहादुर विष्ट, सचिवालय प्रमुख भरतजङ्ग उप्रेती, सङ्गठन विभाग प्रमुख तारानाथ लुइँटेल, केन्द्रीय सदस्यहरु सुष्मा शर्मा, माधव भण्डारी, नानीमैयाँ आचार्य, श्यामकुमार केसी, झनक प्याकुरेललगायतले नयाँ शक्तिका रुपमा उदाएको पार्टीलाई भ्रष्टाचारमुक्त समाजको स्थापना र विकासप्रेमी पार्टीका रुपमा सङ्गठन विस्तारमा लाग्न कार्यकर्तालाई आग्रह गर्नुभएको थियो ।
नयाँ पार्टीका रुपमा रहेको एकीकृत राप्रपा राष्ट्रवादीले स्थानीयतहको निर्वाचनमा चुनाव चिह्न हलो नपाए पनि स्वतन्त्र रुपमा प्रतिस्पर्धा गर्ने जनाएको छ । रासस

Leave A Reply