स्थानीय तहको निर्वाचनमा छ प्रकारका मतपत्र हुने

0

काठमाडौँ, ४ चैत । निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनमा छ प्रकारका मतपत्र हुने तय गरेको छ ।

पचहत्तरै जिल्लामा फरक फरक संख्यामा दलले निर्वाचनमा भाग लिने भएपछि सानाठूला गरी विभिन्न छ आकारका मतपत्र बनाउने तयारी भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

स्थानीय तहका निर्वाचनका लागि सबैभन्दा बढी काठमाडौँमा ४७ र सबैभन्दा कम मनाङमा सात दल दर्ता भएका छन् ।

आयोगले एक÷दुई दिनमा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छपाई थाल्ने तयारी गरेको छ ।

निर्वाचनमा करिब एक करोड ४० लाख मतदाता र २१ हजार मतदान केन्द्र रहने आयोगले अनुमान गरेको छ ।

नगरपालिका र गाउँपालिका तथा तिनका वडामा गरी कुल ३६ हजार छ सय ३९ पदका लागि निर्वाचन हुने छ । आयोगमा दर्ता भएका कुल एक सय १३ दलमध्ये तोकिएको समयमा ७९ दलले मात्र निर्वाचनमा भाग लिन आवेदन दिएका छन् ।

मुलुकभर चार सय ८१ गाउँपालिका, दुई सय ४६ नगरपालिका, १३ उपमहानगरपालिका र चार महानगरपालिका गरी सात सय ४४ स्थानीय तह तथा सबै तहमा गरी कुल छ हजार छ सय ८० वडा छन् ।

त्यसमध्ये संसद्मा हाल प्रतिनिधित्व गरेका २६ दलले मात्र आफ्नो चुनाव चिह्नसहित भाग लिन पाउनेछन् ।

बाँकी दल र स्वतन्त्र उम्मेदवारले भने आयोगले निर्धारण गरेको चिह्नका साथ निर्वाचनमा भाग लिनुपर्ने आयोग, कानुन तथा राजनीतिक दल शाखाका शाखा अधिकृत घमचन्द्र तिम्सिनाले बताउनुभयो ।

Leave A Reply