सिरियाली राष्ट्रपति असदको संसदमा सम्बोधन, शान्तिवार्ताबारे कडा अडान

0

सिरिया, २६ जेठ २०७३ । सिरियाली राष्ट्रपति बसर अल असदले संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा भएको युद्धबिरामपछिको शान्तिवार्ताका लागि नयाँ सरकार गठन सम्बन्धमा सरकारको पूर्वअडानमा परिवर्तन हुन नसक्ने बताउनुभएको छ ।

नवनिर्वाचित संसदलाई मङ्गलबार सम्बोधन गर्ने क्रममा उहाँले सरकारले संयुक्त राष्ट्रसङ्घमा पेस गरेको शान्तिवार्तासम्बन्धी बुँदामा सैद्धान्तिक रुपमा जे कुरा लेखिएको छ त्यसबाट आफूहरु पछि हट्न सम्भव नहुने सांसदहरुलाई बताउनुभएको छ ।

उहाँको सम्बोधन राष्ट्रिय टेलिभिजन च्यानलबाट मङ्गलबार प्रसारण भएको थियो ।

राष्ट्रसङ्घमा सिरियाली सरकारी प्रतिनिधिले पेस गरेको पत्रमा असद सरकार संयुक्त सरकार बनाउने कुराले यदि सिरियाको द्वन्द्वलाई अन्त्य गर्ने देखिएमा सरकार यस्तो सरकार बनाउन तयार हुने बताइएको छ ।

तर असद पक्षधर प्रतिनिधिमण्डलले सिरियामा सङ्क्रमणकालीन सरकार बनाउने कुरामा सहमत हुन नसकिने पत्रमा उल्लेख गरेको छ ।

असदले सरकार नियन्त्रित सिरियाली भूमिमा गएको अप्रिलमा गरेको निर्वाचनबाट निर्वाचित सांसदलाई पहिलो पटक सम्बोधन गर्दै सरकारको शान्तिवार्तामा रहने अडानबारे जानकारी गराउनुभएको छ ।

निर्वाचनलाई राष्ट्रपति असद आफूलाई जननिर्वाचित सरकार बनाउने चालबाजीको संज्ञा दिँदै संयुक्त राष्ट्रसङ्घलगायत विश्व समुदायले मान्यता दिएको छैन ।

सिरियामा असद सरकारको गठनसँगै सन् २०११ मा सुरु भएको द्वन्द्व सन् २०१६ को मे २५ सम्म आइपुग्दा दुई लाख ८२ हजारभन्दा बढी मानिसको मृत्यु भएको बेलायतस्थित सिरियाली मानवअधिकार अनुगमनकारी संस्थाले बताएको छ ।

द्वन्द्वका कारण सिरियाको आधा जनसङ्ख्या विस्थापित भएको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क छ ।

Leave A Reply