सिरियामा हवाई आक्रमण्, ४२ जनाको मृत्यु

0

दमासकस, ४ चैत । उत्तरी सिरियाको अलेप्पो राज्यमा पर्ने एउटा गाउँमा अवस्थित एक मस्जिदलाई लक्ष्यगरी भएको हवाई आक्रमणमा परी बिहीबार कम्तीमा ४२ जनाको मृत्यु भएको छ ।

मस्जिदमा भएको यस आक्रमणमा परी मारिएका ती ४२ जनामध्ये अधिकाँश आमनागरिक भएका अनुगमनकर्ताले जानकारी दिएका छन् ।

अलेप्पो राज्यको राजधानीदेखि पश्चिमतर्फ धेरै टाढा पर्ने जीनेअ भन्ने ठाउँमा आक्रमण भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइटस्ले जनाएको छ ।

घटनामा परी १० जना सिकिस्त घाइते भएकामा अधिकांशको अवस्था गम्भिर रहेको उद्धारकर्मीले जनाएका छन् । सोही कारण मृतकको सङ्ख्या पनि अझ बढ्न सक्ने अनुमान गरिएको छ ।

सिरियामा सन् २०११ मा त्यहाँका राष्ट्रपति बसार अल असादको राजिनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समय पछाडि गृहयुद्धमा परिणत भएको थियो ।

सो गृहयुद्धमा आतङ्ककारी समुह अल कायदा र इस्लामिक स्टेट (आइएस)को प्रभाव बढदै गयो । सिरियामा जारी यस युद्धमा परी सन् २०११ बाट हालसम्म तीन लाख १० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।

त्यसैगरी लाखौँ व्यक्ति घाइते भएका छन् भने, लाखौं आफ्नो घर छोडी आफ्नै देशमा र छिमेकमा पर्ने देशमा शरणार्थीको जीवन विताउन बाध्य भएका छन् ।

Leave A Reply