सिउरुङमा पर्यटकको चहलपहल बढ्यो

0

लमजुङ, ७ चैत । उत्तरी लमजुङको पर्यटकीय गाउँ सिउरुङमा पछिल्लो समय पर्यटकको चहलपहल बढेको छ ।

हिमपातका कारण अन्नपूर्ण पदमार्गमा अवरोध भएपछि विदेशी पर्यटक ग्रामीण पर्यटकीय गाउँ सिउरुङ पुगेका हुन् । हप्ता दिनसम्म मनाङमा परेको हिमपातले अन्नपूर्ण पदमार्गमा अवरोध भएपछि बाह्य पर्यटक सिउरुङ आइपुगेको पर्यटन विकास समितीका सचिव उमरबहादुर गुरुङले बताउनुभयो ।

सिउरुङलाई २०६२ सालबाट पर्यटकीय गाउँ बनाउने अभियानमा गाउँले लागेका हुन् । समुद्री सतहदेखि एक हजार ८५४ मिटर उचाइमा अवस्थित सिउरुङमा एक सय १५ घर रहेका छन् । प्राकृतिक सुन्दरता, गुरुङ संस्कृतिमा प्रख्यात सिउरुङ गाउँ जैविक विविधताले पनि उत्तिकै महत्वपूर्ण मानिन्छ ।

सिउरुङमा स्थानीय आमा समूहको सक्रियतामा सामूहिक पाहुना घर निर्माण गरिएको छ । आमा समूहले नै नाचगान गरी जम्मा गरेको पैसाले पाहुनाघर बनाएका छन् ।

स्थानीय महिला गाउँ घुम्न आउने पाहुना स्वागत सत्कारका लािग यही समूह घरमा जम्मा हुने गर्छ । गाउँमा पुग्ने पाहुनालाई सामूहिक पाहुना घरमा राखेर सत्कार गर्नु, सोरेठी, घाँटू, कृष्णचरित्र, लोकदोहोरी, रोधिलगायतका परम्परागत नृत्य प्रस्तुत गर्नु सिउरुङबासीको चलन नै भएको गुरुङ बताउनुहुन्छ ।

सिउरुङबाट मनास्लु, माछापुच्छ्रे, बौद्ध, लमजुङ, अन्नपूर्णलगायतका हिमाल आँखै अगाडि देखिन्छन् । यहाँबाट सूर्योदयको दृश्य समेत हेर्न सकिन्छ । सदरमुकाम बेंसीसहरदेखि सिउरुङ गाउँसम्म मोटर पुगेको छ । हिँडेर आउन नसक्नेका लागि सडक बनेपछि सहज भएको छ । बेंसीसहरदेखि खुदी अर्खलेसम्म करिब दुई घन्टा गाडीमा यात्रा गरी करिब चार घन्टाको पैदलमार्गबाट पनि सिउरुङ पुग्न सकिन्छ ।

Leave A Reply