सिंजा सभ्यता विकास परिषद्को मस्र्याैदामाथि छलफल

0

जुम्ला, ६ वैशाख । सिंजा सभ्यता विकास परिषद्को व्यवस्था गर्न बनेको विधयेकका सम्बन्धमा आज राजधानीमा छलफल गरिएको छ ।

कर्णालीको कला, भाषा, साहित्य, संस्कृति, पर्यटन, भूगोल र पुरातत्विक क्षेत्रका विद्वान स्थानीय राजनीतिक दल, पत्रकार र नागरिक समाजको सहभागितामा “सिंजा सभ्यता विकास ऐन, २०७३” विषयक विधेयकका सम्बन्धमा छलफल गरिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको छलफलमा कर्णालीको संस्कृतिका जानकार रमानन्द आचार्यले सिंजा क्षेत्र भाषा, कला र साहित्यको उद्गम थलो भएकाले यसको अन्वेषण, खोज र अनुसन्धानका लागि विधेयकमा व्यवस्था होस् भन्नुभयो ।

सातौं शताब्दीदेखि सिंजाको आफ्नै इतिहास रहेको बताउँदै उहाँले यसको समूचित संरक्षण, विकास र प्रवद्र्धनका लागि मुख्य कार्यालय सिंजामै राख्नुपर्ने सुझाव दिनुभयो ।

साँसद ललितजंङ शाही, सुदर्शन काफ्ले, टेकराज पर्छाइ लगायतले विधेयकमा सुझाव दिनुभएको थियो ।

सँस्कृति मन्त्रालयका सहसचिव भरतमणि सुवेदीले विधेयकका मस्यौदामा प्रस्तुत सुझाव समेटेर पेस गर्ने बताउनुभयो ।

मस्यौदामा उल्लेख भएअनुसार हुम्ला, जुम्ला, मुगु, डोल्पा, कालिकोट, दैलेख, सुर्खेत, जाजरकोट, बर्दिया, अछाम, डोटी, बाजुरा र बझाङ जिल्लाको भू–भागलाई सिंजा सभ्यता विकास अन्तर्गत राखिएको छ ।

Leave A Reply