‘सनातन ज्ञान तथा वैदिक परम्पराको महत्व विश्वव्यापी रुपमा बढ्दै’

0

काठमाडौँ, ५ साउन २०७३। मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले सनातन ज्ञान तथा वैदिक परम्पराको महत्व विश्वव्यापीरुपमा बढ्दै गएको बताउनुभएको छ ।

विन्ध्यवासिनी आध्यात्मिक सङ्घले गुरु पूर्णिमाका अवसरमा सतुङ्गलमा मंगलवार आयोजित ‘द्वन्द्व रुपान्तरण र शान्ति स्थापनामा धर्म तथा आध्यात्मिक क्षेत्रको भूमिका’ विषयक अन्तक्र्रियामा उहाँले अध्यात्म क्षेत्रले धेरै कुरालाई समेटेको बताउँदै यस क्षेत्रमा मानिसलाई आनन्द र खुसी बनाउन सक्ने शक्ति रहेको बताउनुभयो ।

उहाँले मुलुकमा लामो समयदेखि व्याप्त छुवाछूतको समस्या मानिसको अज्ञानताले भएको विचार व्यक्त गर्दै समाजमा विद्यमान छुवाछूत तथा विभेदको न्यूनीकरणका लागि हिन्दू सनातन समुदायले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

जगताचार्य नेपाली बाबाले सनातन संस्कृतिमा गुरु शिष्य परम्पराबाट ज्ञान हासिल गरी समाजलाई अग्रगतितर्फ उन्मुख गराउन ठूलो महत्व रहेको बताउनुभयो ।

विन्ध्यवासिनी आध्यात्मिक सङ्घका अध्यक्ष केशव चौलागाईंले धर्मले मानिसलाई परम्पराप्रति आस्थावान् बनाउनुका साथै हिंसा त्याग्न उत्प्रेरित गर्दछ भन्नुभयो । सो अवसरमा मन्दिर परिसरमा यज्ञ तथा हवनसमेत गरिएको थियो ।

Leave A Reply