संसदको विशेष समयः निर्वाचनको वातावरण बनाउन सांसदहरुको जोड

0

काठमाडौँ, ७ चैत । व्यवस्थापिका–संसद्को आजको विशेष समयमा सांसदहरुले स्थानीय तहको निर्वाचनका लागि आवश्यक वातावरण बनाउन तथा तोकिएको समयमा निर्वाचन सम्पन्न गराउन सबैले आ–आफ्नो स्थानबाट सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

विशेष समयमा काँग्रेस सांसद रामहरि खतिवडाले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अरु दलको अस्तित्व नै स्वीकार नगर्ने तथा मधेसी मोर्चा संविधान र स्थानीय तहको निर्वाचन स्वीकार्य नगर्ने भन्ने दुवै अतिवाद प्रवृत्ति भएको बताउनुभयो ।

नेकपा (एमाले)का सांसद भीमबहादुर रावलले निर्वाचनसँग जोडेर आफ्नो पार्टीले गरेको मेची–महाकाली अभियानलाई अराजक भन्नेहरु लोकतन्त्रवादी हुनै नसक्ने धारणा राख्नुभयो ।

नेकपा (माओवादी केन्द्र)का अमनलाल मोदीले अहिले मुलुकमा संविधान संशोधन, राष्ट्रवाद र निर्वाचनका कुरामा राजनीतिक दल दुई कित्तामा उभिँदा संविधान कार्यान्वयन जटिल भएको बताउनुभयो ।

नेपाल मजदुर किसान पार्टीकी सांसद अनुराधा थापा मगरले चीन सरकारले सहयोगस्वरुप उपलब्ध गराएको इन्डक्सन चुलोको प्रयोग किन हुन सकेन भनी प्रश्न गर्नुभयो ।

नेपा राष्ट्रिय पार्टीका सांसद लक्ष्मण राजवंशीले राजदूतमा सिफारिश गर्दा दलहरुले गम्भीरता अपनाउन नसकेको बताउनुभयो ।

नेकपा (एमाले)का सांसद रवीन्द्र अधिकारीले स्थानीय तहको निर्वाचनको घोषणा भई आचारसंहिता समेत लागू भइसकेको अवस्थामा नयाँ आयोजनाको रकमान्तरण तत्काल रोक्न माग गर्नुभयो ।

Leave A Reply