व्यवस्थापिका संसदबाट दुई विधेयक पारित

0

काठमाडौँ, ७ चैत । व्यवस्थापिका संसदको आजको बैठकले निर्वाचन क्षेत्र निर्धारण विधेयक, २०७३ र गाउँपालिका तथा नगरपालिकाको संख्या निर्धारण विधेयक, २०७३ पारित गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले प्रस्तुत गर्नु भएको निर्वाचन क्षेत्र निर्धारण विधेयक संसदको बहुमतले पारित गरेको हो ।

बैठकमा विधेयकमाथिका संशोधनकर्ता भारतबहादुर खड्का, राजेन्द्र पाण्डे, रेवतीरमण भण्डारी, गुरु बुर्लाकोटी, रामनारायण बिडारी, अग्निप्रसाद खरेलले फिर्ता लिनुभएको थियो भने प्रेम सुवाल, अनुराधा थापा र मीना पुनको संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिएकोमा सदनको बहुमतले अस्वीकार गरेको थियो ।

विधेयकमाथि प्रमुख प्रतिपक्ष दलले राखेको अधिकांश संशोधनलाई सरकारले स्वीकार गरेको हुँदा विधेयक बहुमतका आधारमा पारित भएको हो ।

गाउँपालिका तथा नगरपालिकाको वडाको संख्या निर्धारण विधेयक, २०७३ लाई परिमार्जनसहित सदनको बहुमतले पारित गरेको हो ।

उपप्रधान मन्त्री एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय शङ्कर नायकले प्रस्तावलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

यसअघि बैठकमा सभामुख ओनसरी घर्तीले विधेयकमाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्नुभएकोमा बहुमतले ती संशोधनलाई अस्वीकार गरेको थियो । विधेयकमाथि १० वटा संशोधन परेको थियो ।

बैठकमा विधेयक निर्णयार्थ प्रस्तुत गर्नुअघि संशोधनकर्ता राजेन्द्र पाण्डे, गुरु बुर्लाकोटी, कृष्णभक्त पोखरेल, रामनारायण विडारी, रेवतीरमण भण्डारी, रामचन्द्र पोखरेल, दीपक कुईंकेल लगायतले संशोधन प्रस्ताव फिर्ता लिनुभएको थियो ।

तर नेमकिपाका सांसदहरुले भने आफ्नो प्रस्ताव फिर्ता नलिनु भएको हुँदा निर्णयार्थ प्रस्तुत गरिँदा बहुमतले अस्वीकार गरेको थियो ।

Leave A Reply