रेडियो नेपाल, पोखरामा नवनिर्मित भवनको उद्घाटन

0

पोखरा, ६ फागुन । रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले साट वटै प्रदेशमा रेडियो नेपालले अत्याधुनिक सञ्चारग्राम बनाउने लक्ष्य रहेको बताउनुभएको छ ।

रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र पोखरामा नवनिर्मित तारणी प्रसाद कोइराला स्मृति भवनको आज उद्घाटन गर्ने कार्यकारी निर्देशक कार्कीले रेडियो नेपाललाई समयसापेक्ष र अझ बढी प्रभावकारी सूचनाको माध्यम बनाउन आधुनिक सञ्चारग्राम बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले रेडियो नेपालका कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा रेडियो नेपालका निर्देशक बुद्धि बहादुर केसी र रेडियो नेपाल सञ्चालक समितिका सदस्य दुर्गा फूँयालले तारणी प्रसाद कोइरालाले रेडियो नेपालको स्थापना गरेर समाज र राष्ट्रलाई ऐतिहासिक गुन लगाएको बताउनुभयो ।

रेडियो नेपाल कर्मचारी संघ पोखराको पहलमा निर्मित भवनको उद्घाटन समारोहको सभापतित्व रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र पोखराका प्रमुख गौतम तिमिलाले गर्नुभएको थियो भने कार्यक्रममा जिल्ला विकास समिति कास्कीका प्राविधिक अधिकृत खेमराज देवकोटा, रेडियो नेपाल कर्मचारी संघका अध्यक्ष चेतनारायण पौडेल, रेडियो नेपाल पोखराका वरिष्ठ प्राविधिक अधिकृत दुर्गानाथ रेग्मीले पनि बोल्नुभएको थियो ।

Leave A Reply