राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन सुरु

0

काठमाडौं, ६ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन आज काठमाण्डौमा सुरु भएको छ । एकता महाधिवेशनको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले उद्घाटन गर्नुभयो ।

महाधिवेशन सफलताको कामना गर्नुहुदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशनले हिमाल, पहाड र तराईलाई एक गर्ने गरि नीति पारित गर्ने गर्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले सविधान कार्यान्वयनमा एकिकृत राप्रपाले सहयोग पुर्याेउने विश्वास व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले सहमतिवाटै सविधान सशोधनको प्रस्तावलाई अघि बढाउनु पर्ने वताउनुभयो । सभापति देउवाले देशलाई निर्वाचनतर्फ अघि वढाउन राष्ट्रिय प्रजातन्त्र पार्टीले सहयोगी भूमिका खेल्ने अपेक्षा गर्नुभयो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सविधान सशोधन प्रस्ताव राष्ट्र हितमा नभएकाले सशोधनभन्दा पनि अहिले सविधान कार्यान्वयनमा सवैको जोड रहनु पर्ने बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ९४ प्रतिशत हिन्दुभएको नेपालमा हिन्दु राज्य कायम गरिनु पर्ने वताउनुभयो ।

राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता भएपछि आयोजना भएको एकता महाधिवेशनको नारा ‘राष्ट्रियता, प्रजातन्त्र, हिन्दुत्व र आर्थिक उदारवादको जगमा समृद्ध नेपाल निर्माण गरौँ’ भन्ने रहेको छ ।

सभामा सहभागीलाई पार्टीका उपाध्यक्ष टङ्क ढकालले स्वागत गर्दै जनताले चाहना गरेको शान्त र समृद्ध मुलुक निर्माणको उद्देश्यका लागि दुई पार्टी एक भई महाधिवेशन गर्न लागिएको जानकारी दिनुभयो ।

यसअघि राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, वरिष्ठ नेता पशुपतिशम्शेर राणालगायतले पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गर्नुभएको थियो ।

महाधिवेशनमा भाग लिन स्वदेश तथा विदेशबाट गरी तीन हजार ३१५ प्रतिनिधिको सहभागिता रहेको छ ।

Leave A Reply