प्र.म.दाहालकोे संयोजकत्वमा समिति गठन

0

काठमाडौँ, ८ चैत

सरकारले दिगो विकासका लक्ष्यको समन्वय तथा कार्यान्वयनसम्बन्धी कार्यलाई प्रभावकारी र व्यवस्थित बनाउन प्रधानमन्त्रीको संयोजकत्वमा केन्द्रीय निर्देशक समिति गठन गरेको छ ।

सन् २०१५ सेप्टम्बर २५ मा संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रले अवलम्बन गरेको दिगो विकास लक्ष्यलाई नेपालका तर्फबाट अवलम्बन गरिने कामकारबाहीलाई प्रभावकारी बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को संयोजकत्वमा निर्देशक समिति गठन गरिएको राष्ट्रिय योजना आयोगले जानकारी दिएको छ ।

निर्देशक समितिमा उपसंयोजकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, अर्थमन्त्री, परराष्ट्रमन्त्री, मुख्यसचिव सदस्य रहनेछन् भने आयोगका सदस्य सचिव उक्त समितिको पनि सदस्य सचिव रहने व्यवस्था गरिएको छ ।

यस्तै, आयोगका उपाध्यक्षको संयोजकत्वमा कार्यान्वयन तथा समन्वय समिति गठन गरिएको छ । सो समितिमा आयोगका आर्थिक क्षेत्र हेर्ने सदस्य उपसंयोजक, अर्थ सचिव र परराष्ट्र सचिव सदस्य, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष एवम् सभापतिसमेत सदस्य रहने व्यवस्था गरिएको छ । आयोगको आर्थिक व्यवस्थापन महाशाखाका सहसचिवलाई सदस्य सचिवको जिम्मेवारी तोकिएको छ ।

समितिले आफ्नो काम कर्तव्य र कार्यसर्त आफँै व्यवस्थित गर्ने र आवश्यकताअनुसार सरकारी पदाधिकारी, निजी तथा गैरसरकारी क्षेत्रका प्रतिनिधिलाई आमन्त्रित सदस्यका रुपमा बोलाउन र सहभागी गराउन सकिने आयोगका निमित्त सचिव लालशङ्कर घिमिरेले जानकारी दिनुभयो ।

दिगो विकास लक्ष्यसम्बन्धी स्वदेश तथा विदेश र जुनसुकै सङ्घसंस्था वा निकायमा आयोग, अर्थ र परराष्ट्र मन्त्रालयबाट संयोजन गरी कार्य अगाडि बढाइनेछ । दिगो विकास लक्ष्यलाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि सरकारले ठोस कार्ययोजनाका साथ काम गर्न समिति गठन गरिएको र त्यसले उपलब्धि र कमजोरीलाई समीक्षा गर्दै भावी कार्ययोजनासमेत तयार पार्ने तथा कार्यान्वयन गर्नेछ ।

Leave A Reply