पोखरा खानेपानी सुधार कार्यान्वयनका लागि जापान सरकार चार अर्ब ५३ करोड सहयोग प्रदान गर्ने

0

काठमाडौं, ५ फागुन । जापान सरकारले नेपाललाई पोखरा खानेपानी सुधार परियोजना कार्यान्वयनका लागि करिव चार अर्ब ५३ करोड रुपियाँ अनुदान सहयोग प्रदान गर्ने भएको छ ।

अनुदान सहयोग सम्बन्धी पत्रमा अर्थ मन्त्रालयमा अर्थसचिव डा. शान्तराज सुवेदी र नेपालका लागि जापानका राजदूत मासाशी ओगावाले हस्ताक्षर गर्नुभयो । सोही अवसरमा सहयोग सम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका सहसचिव बैकुण्ठ अर्याल र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का नेपालस्थित कार्यालयका प्रमुख प्रतिनिधि जुन साकुमाले हस्ताक्षर गर्नुभयो ।

पोखरा खानेपानी सुधार आयोजना अन्तर्गत पोखरा उपमहानगरपालिकामा खानेपानी प्रशोधन संयन्त्र र खानेपानी ट्याङ्कीको स्थापना तथा खानेपानी वितरण प्रणालीको सुधार लगायतका खानेपानी आपूर्ति सुधारका कार्यहरु गरिने अर्थ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, परियोजना अन्तर्गत स्थापना गरिने खानेपानी प्रशोधन संयन्त्रबाट दैनिक चार करोड लिटरभन्दा बढी खानेपानी प्रशोधन हुने र परियोजनाबाट पोखराका चार लाख पाँच हजारभन्दा बढी बासिन्दा प्रत्यक्ष लाभान्वित हुने छन् ।

पोखरा खानेपानी सुधार परियोजना आगामी सन् २०२२ को डिसेम्बरसम्ममा सम्पन्न हुने अपेक्षा गरिएको छ ।

Leave A Reply