पुष्कर रेग्मीलाई ‘बम–सरस्वती’ स्मृति पुरस्कार

0

बागलुङ, २९ असार । धवलागिरि साहित्य प्रतिष्ठान बागलुङले यस वर्षको बम–सरस्वती स्मृति पुरस्कार पाल्पा तानसेनका लेखक एवम् अन्वेषक पुष्कर अथक रेग्मीलाई प्रदान गरेको छ ।

बागलुङ मूलपानी घर भई हाल बेल्जियममा बस्ने कवि दीपेन्द्र केसीद्वारा हजुरबुबा बमबहादुर र हजुरआमा सरस्वती केसीको स्मृतिमा स्थापित पुरस्कारबाट रेग्मी पुरस्कृत हुनुभएको हो । नगद रु १० हजार राशिको पुरस्कार बुधबार भानु जयन्तीको अवसरमा आयोजित समारोहमा प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।

बागलुङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले पुरस्कार हस्तान्तरण गर्नुभएको प्रतिष्ठानका अध्यक्ष काजी रोशनले जानकारी दिनुभयो । नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा पु¥याएको योगदानस्वरुप रेग्मीलाई पुरस्कृत गरिएको उहाँको भनाइ छ । पुरस्कार ग्रहण गर्दै रेग्मीले आफूलाई भाषा, साहित्यको उत्थानमा लाग्न थप ऊर्जा र प्रेरणा मिलेको प्रतिक्रिया दिनुभयो ।
रेग्मीका विभिन्न साहित्यिक र अनुसन्धानमूलक गरी आधा दर्जन कृति प्रकाशित छन् । साहित्यिक, सामाजिक, शैक्षिक संस्थामा पनि रेग्मीको आबद्धता छ । धवलागिरि साहित्य प्रतिष्ठानमा स्थापित उक्त पुरस्कार हरेक वर्ष एकजना साहित्य क्षेत्रको व्यक्तित्वलाई प्रदान गरिँदै आएको छ ।

पुरस्कार समर्पणसँगै प्रतिष्ठानले भानु जयन्तीको अवसरमा विविध साहित्यिक कार्यक्रम पनि गरेको छ । स्थलगत कविता लेखन, भानु चित्र लेखन, रचना वाचन लगायतका कार्यक्रम गरिएको प्रतिष्ठानका सचिव राम थापा ‘अविरल’ले बताउनुभयो ।

Leave A Reply