निर्वाचन आयोग र राष्ट्रसंघीय प्रतिनिधिबीच छलफल

0

काठमाडौं, ८ बैशाख । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि भइरहेको तयारी बारेमा सयुक्त राष्ट्रसंघ आबद्ध नियोगका प्रतिनिधिहरुलाई आज जानकारी गराएको छ ।

आयोगले सयुक्त राष्ट्रसघीय विकास कार्यक्रम युएनडीपी, सयुक्त राष्ट्रसघीय बालकोष, संयुक्त राष्ट्रसघीय जनसंख्या कोष, विश्व खाद्य कार्यक्रमलगायतका नियोगका प्रतिनिधिलाई निर्वाचनको तयारीका बारेमा अवगत गराएको हो ।

नियोगका प्रधिनिधिले मतदाता नामावली संकलन, निर्वाचनमा महिलाको सहभागिता, अपाङगता भएकालाई मतदानको लागि गरिने व्यवस्था, सीमान्तकृत समुदायको हकअधिकार, निर्वाचन पर्यवेक्षणको व्यवस्थालगायतका विषयमा जिज्ञासा राखेका थिए ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले नेपालमा गणतन्त्र, सघीयता र लोकतन्त्र कार्यान्वयनको चरणमामा रहेको अवस्थामा हुन लागेको निर्वाचनपछि जनताले घर दैलोमा नै स्थानीय सरकार प्राप्त गर्ने बताउनुभयो ।

प्रमुख आयुक्त डा. यादवले आयोगले मतदाता र राजनीतिक दल दर्ता, मतदाता शिक्षाको लागि सञ्चालन गरिएको कार्यक्रम, मतदानस्थल र मतदान केन्द्रको संख्या, अपाङ्गता र दृष्टिविहीनलाई मतदानका लागि प्रेरित गर्न गरिएको व्यवस्थालगायत निर्वाचन तयारीको बारेमा जानकारी गराउनु भएको थियो ।

त्यस अवसरमा आयोगका सहसचिव नवराज ढकालले आगामी स्थानीय तहको निर्वाचन संघीयता र संविधान कार्यान्वयनका लागि कोशेढुंगा साबित हुने विश्वास व्यक्त गर्नुभयो ।

Leave A Reply